काठमाडौँ । सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्याउने १० स्रष्टा सम्मानित भएका छन् ।
सांस्कृतिक समाज नेपालले शनिबार आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता बिराज भट्ट, खेलाडी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउद छन् ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सहभागी थिए । कार्यक्रममा समाजका अध्यक्ष रामप्रसाद अवस्थीले गत वर्षदेखि शुरू गरिएको स्रष्टा सम्मान तथा देउडा महोत्सवलाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।