लन्डन । तमु प्ये ल्हु संघ यूकेले २२ सेप्टेम्बर २०२४ मा युवा समन्वयन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । संघको युवा परिचालन परियोजनाअन्तर्गत आयोजना गर्न लागेको उक्त कार्यक्रम अध्यक्ष क्या.रि डेमबहादुर योज तमुको नेतृत्वमा गठित कार्यसमितिले कार्यभार सम्हालेपछि पहिलो युवा कार्यक्रम हो ।
अल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा यूकेस्थित नेपाली समुदायका १८ देखि ४० वर्षसम्मका छोराछोरीलाई सहभागिता गराइदिन अभिभावकलाई पत्राचार गरिएको छ ।
सो अवसरमा छोराछोरीहरूलाई स्वागत तथा सम्मान गरी विभिन्न परिचयात्मक सत्र सञ्चालन गरिनेछ । संघको स्थापनादेखि हालसम्मका अध्यक्ष, भातृ समितिका अध्यक्ष, खेगीगुरु र MVO, BEM, MBE जस्ता विशेष मेडल प्राप्त गरेका विशिष्ट गोर्खाहरूलाई पनि सम्मान गरिनेछ ।
‘आजको युवा नै भोलीको कर्णधार हो’ मूल मन्त्रलाई आत्मासाथ गर्दै तमु जातिको मौलिक पहिचानयुक्त धर्म, भाषा, संस्कार, संस्कृति तथा भेषभुषालगायत ऐतिहासिक संरचना र प्राचीन सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्धनका खातिर पुस्तान्तरण र हस्तान्तरणका लागि युवा सशक्तीकरण अपरिहार्य भएकाले यो कार्यक्रम गर्न लागिएको युवा संयोजक तथा सचिव भेग च्हाक्ली तमुले बताए ।
युवा समितिका लागि आवश्यक कोषसमेत स्थापना गरिनेछ । कम्तीमा पाँच हज़ार पाउन्ड धनराशिको कोष स्थापना गर्ने लक्ष्य रहेको र सक्दो आर्थिक सहयोग गर्न आह्वान गरिएको छ । हाल आर्थिक संकलन कार्य जारी रहेको जनाइएको छ ।
कार्यक्रमलाई आकर्षक बनाउन तमु भेषभुषा प्रदर्शन र खेगी प्रस्तुतिलगायत थप मनोरञ्जनका लागि युवा कलाकारको सांस्कृतिक प्रस्तुति समावेश गरिएको छ । कलाकारहरू तिलक प्ल्हेँ तमु र उषा प्ल्हेँ तमुको बेजोड सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।