लन्डन । प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको दक्षिणपूर्व (साउथ इस्ट) इलाका कमिटी अध्यक्षमा राममाया विष्ट निर्वाचित भएकी छन् ।
आइतबार साउथ इस्टस्थित वीलवुचमा सम्पन्न छैटौँ अधिवेशनले विष्टको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । विष्ट साउथ इस्टमा अध्यक्ष बन्ने पहिलो महिला हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा करुणा हमाल, सचिवमा जीविका नहर्की, उपसचिवमा राजेन्द्र लम्साल चयन भएका छन् । यसैगरी, सदस्यहरूमा रत्ना हमाल शाही, लीलाराम सापकोटा, सन्तोष गिरी, अनीश थपलिया, नवीन भट्ट, थर्कसिंह खड्का, किरण अधिकारी र मनीषा खड्का रहेका छन् । तीन जना सदस्य पछि कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ ।
नवनिर्वाचित अध्यक्ष विष्टसहित पदाधिकारी तथा सदस्यहरूलाई ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा अधिवेशनका प्रमुख अतिथि कर्ण शाहीले शपथग्रहण गराएका थिए ।
यसैबीच, अध्यक्ष विष्टले सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । नवनिर्वाचित कार्यसमितिलाई ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य कल्पना त्रिपाठी, उपसचिव कर्ण शाही र ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले सफल कार्यकालको शुभकामना दिएका थिए ।
निर्वाचन समिति संयोजक केदार थपलियाले कार्यसमिति सर्वसम्मत भएको जानकारी अधिवेशनलाई गराए । निर्वाचन समितिमा संयोजक थपलिया तथा सदस्यद्वय ओएनएफ यूके उपाध्यक्ष डा. मुकुन्द बास्तोला र सचिव पुण्य रेग्मी रहेका थिए ।
यसअघि, निवर्तमान अध्यक्ष अर्कराज तिमल्सिनाले विगतमा गरेका काम र आगामी दिनमा गर्न सक्ने कामका बारेमा सुझाव दिए । सचिव पंकज बजगाईले कार्य प्रगति विवरण पेस गरेका थिए । उक्त प्रतिवेदन सर्वसम्मत ढंगले पारित भएको थियो ।
अधिवेशनमा पूर्वअध्यक्ष दिनेश घिमिरे, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार विनोद ज्ञवाली, उपाध्यक्षद्वय डा.मुकुन्द बास्तोला, सुरेशजंग शाहलगायतको उपस्थिति थियो ।