लन्डन । बेलायतस्थित नेपाली इन्जिनियरहरूको संस्था 'सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूके' मा नयाँ कार्यसमिति चयन भएको छ ।
७ सेप्टेम्बर शनिबार लन्डनमा सम्पन्न वार्षिक साधारणसभाले इन्जिनियर सुवोध तिमिल्सिनाको अध्यक्षतामा छैटौँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
साधारणसभाले उपाध्यक्षमा डा. रुद्र पौडेल, महासचिव मनोज पुन, सचिव संगीता पोखरेल र कोषाध्यक्षमा सुमन चालिसेलाई निर्वाचित गरेको छ ।
त्यसैगरी, सदस्यहरूमा डा. ब्रम्हानन्द सापकोटा, पुकार सिवाकोटी, डा. सूर्यनाथ घिमिरे, सुजन शर्मा र सुजित शर्मा निर्वाचित भएका सोसाइटीले जनाएको छ ।
सोसाइटीले गत २३ अगष्टदेखि ७ सेप्टेम्बरसम्म निर्वाचन कार्यक्रम गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले आफ्नो 'भिजन' प्रस्तुत गर्दै बेलायतका नेपाली इन्जिनियरहरुको पेसागत हक हित एवं नेपालमा आफूहरूको सीप र ज्ञान हस्तान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि निवर्तमान अध्यक्ष रुद्र कोइरालाको अध्यक्षतामा सचिव सज्ञान खरेलले सञ्चालन गरेको साधारणसभामा पाँचौँ कार्यसमितिको वार्षिक प्रतिवेदन अनुमोदन गरिएको थियो ।
सन् २००७ मा स्थापित सोसाइटीले आफ्ना सदस्यरुको हितका लागि विभिन्न कार्य गर्दै आएको छ ।