लन्डन । बेलायत निवासी सामाजिक अगुवाहरुले वरिष्ठ पत्रकार डण्ड गुरुङलाई स्वागत, सम्मान गरेका छन् ।
शनिबार ७ सेप्टेम्बर २०२४ मा फानबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा एक समारोहबीच विभिन्न संस्थाका अगुवा र बुद्धिजीवीले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का निवर्तमान अध्यक्ष, एबीसी टेलिभिजनका सम्पादकसमेत रहेका गुरुङलाई स्वागत, सम्मान र बिदाइ गरेका हुन् । पत्रकार गुरुङलाई खादा, मायाको चिनोसहित स्वागत, सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार, गीतकार एवं संस्कृतिकर्मी एकेन्द्र गुरुङ, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वअध्यक्ष, एनआरएनए आईसीसी सल्लाहकार तथा गोर्खा प्यालेस सञ्चालक सूर्य गुरुङ, एनआरएनए आईसीसी सदस्य तथा बगर भाइ खलक यूकेका अध्यक्ष दिलरास गुरुङ, तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, तमु धीं यूकेका उपाध्यक्ष तथा बुद्धिस्ट गुम्बा रेडिङका महासचिव कमल गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, कलाकारहरु लक्ष्मी गुरुङ, आरुशी थापामगरलगायतको उपस्थिति थियो ।
साहित्यकार, गीतकार एकेन्द्र गुरुङले पत्रकारितामार्फत र प्रत्यक्ष रुपमा पत्रकार डण्ड गुरुङले समाजमा पुर्याइरहेको योगदान अनुकरणीय रहेको बताए ।
सम्मानित पत्रकार गुरुङले विश्वका विभिन्न देश भ्रमणलाई आफूले उपलब्धिमूलक बनाउने सोंचसहित 'नलेख्ने हो भने हामी हराउँछौं' भन्ने हिसाबले अभियान चलाइरहेको जानकारी गराए । उनले विशेषगरी गोर्खा समुदायको अनुभव नेपालमात्रै नभई विश्वस्तरमै रहेकोले आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भनेर गुरुङ समुदायको नलेखिएको इतिहास लेख्ने तयारीमा रहेको बताए । पत्रकार गुरुङलाई आफूलाई धेरै मायाका साथ स्वागत सम्मानका लागि सबै आयोजकहरुप्रति धन्यवाद तथा आभार प्रकट गरे ।