लन्डन । तमु धीं लन्डन ईकाइ आमा समूहले हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज सानदार रुपमा मनाएको छ । शनिबार ७ सेप्टेम्बर २०२४ मा लन्डन सडबरी हिल स्पोर्ट्स क्लबको हलमा विशेष समारोह आयोजना गरी तीज पर्व मनाइएको हो ।
प्रमुख अतिथि तमु धीं यूके आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङ, तमु धीं लन्डन ईकाइ आमा समूहकी अध्यक्ष देवकला गुरुङ, तमु धीं लन्डन ईकाइकी प्रथम महिला सिर्जना गुरुङ, गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेकी प्रथम महिला सीता (मन्जु) गुरुङ, तमु धीं लन्डन ईकाइ तीज कार्यक्रम संयोजक दुर्गा गुरुङले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
तमु धीं लन्डन ईकाइ आमा समूहकी अध्यक्ष देवकला गुरुङको अध्यक्षतामा भएको कार्यक्रम आमा समूह संयोजक तथा कार्यक्रम सञ्चालिका हेलिसा गुरुङले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराएकी थिइन् । स्वागत मन्तव्य तमु धीं लन्डन ईकाइ आमा समूह उपाध्यक्ष बिनु गुरुङले राखिन् भने टिकेटिङको भूमिका कोषाध्यक्ष गुड्डु गुरुङले निभाइन् । अतिथि सत्कारमा भने आमा समूहका सबै जनाले भूमिका निर्वाह गरे ।
कार्यक्रममा प्रमुख अतिथि तमु धीं आमा समूह अध्यक्ष सन्ध्या गुरुङ, अतिथिहरु तमु धीं यूके अध्यक्ष हरि गुरुङ, तमु धिं लन्डन ईकाइ अध्यक्ष भरत गुरुङ, तीज कार्यक्रम संयोजक दुर्गा गुरुङले मन्तव्य राख्दै सम्पूर्ण दिदीबहिनीहरुलाई तीजको अवसरमा शुभकामना दिएका थिए ।
अन्त्यमा तमु धीं लन्डन ईकाइ आमा समूहकी अध्यक्ष देवकला गुरुङले आमन्त्रित, उपस्थित पाहुना, सहभागी सबैजना, कार्यक्रम तयारीमा खटिएका आमा समूहका पदाधिकारी, सदस्य, प्रायोजक, कलाकारहरुलाई धन्यवाद मन्तव्यसहित औपचारिक कार्यक्रम समापन गरेकी थिइन् । यस पटक सहभागी संख्याले कार्यक्रमको गरिमा बढाएकोमा उनले उत्साह प्रकट गर्दै आगामी वर्षमा पनि यस्तै उपस्थित हुने अपेक्षा व्यकत गरिन् ।
औपचारिक कार्यक्रम सकिएपछि अनौपचारिक कार्यक्रम अर्थात् मनोरन्जन चरण प्रारम्भ भएको थियो । तमु धीं लन्डन ईकाइका सहसांस्कृतिक सचिव मिना गुरुङले सञ्चालन गरेको उक्त चरणको कार्यक्रममा नेपालबाट आएकी लोकप्रिय गायिका उषा गुरुङले विशेषत: उपस्थित दिदीबहिनीहरुलाई नचाउन सफल भइन् ।
कार्यक्रममा आकर्षक रुपमा राफल ड्र पनि खेलाइएको थियो । कार्यक्रममा सहभागीलाई मामाघर किचनले स्वादिस्ट भोजन उपलब्ध गराएको थियो भने पियपदार्थ बाबा समूहका उपाध्यक्ष ईश्वर र कोषाध्यक्ष प्रेम गुरुङले प्रायोजन गरेका थिए । डिजेमा चौतारी म्युजिकका डिजे सुशील गुरुङले साथ दिए भने गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा वरिष्ठ फोटो पत्रकार मिलन तमुले फोटो र भिडियोग्राफीको जिम्मा सम्हालेका थिए ।
बेलायतमा रहे पनि हरितालिका तीजको पौराणिक सम्बन्ध, संस्कार तथा परम्परालाई पछ्याउँदै आइरहेको तमु धीं लन्डन ईकाइले हरेक वर्ष तीज पर्व मनाउँदै आएको छ ।