लन्डन । वेक्स्ली नेपाली समाज बेलायतले आफ्नो वार्षिक क्यालेन्डर अनुसार यस वर्षको तीज २४ अगस्ट २०२४ मा मनाएको छ । नेपाली राजदूतावास बेलायतका कार्यवाहक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा Falconwood Community hall मा भव्य रूपमा कार्यक्रम भएको हो ।
समाजका अध्यक्ष डा. हरिश ज्ञावलीको अध्यक्षता र उपाध्यक्ष बिजिता गौतमको संयोजनमा भएको कार्यक्रम महासचिव हिमाल गुरुङले सञ्चालन गरेका थिए । सांस्कृतिक कार्यक्रम उपाध्यक्ष केदार थपलियाले जिम्मा लिएका थिए ।
कार्यक्रममा डाइमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष सुमल कुमार गुरुङ, सोँपाल समाज यूकेका संस्थापक अध्यक्ष तथा सो समाजका पूर्वअध्यक्ष विजय बहादुर गुरुङ, पूर्वअध्यक्ष आनन्द धरेल, South East Regional Tamu Dhee UK का उपाध्यक्ष/ आमा प्रमुख बिन्दु गुरुङ, Nursing Association का अध्यक्ष सुनिता थापालगायत अतिथि रहेका थिए ।
नेपाल र यूकेको राष्ट्रिय गानपश्चात् प्रमुख अतिथि, बिजिता गौतम, आराधना ज्ञवाली, माया गुरुङ र विमला धरेलले पानसमा दीप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए । शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि खनालले विदेशी भूमि तथा फरक परिवेशमा रहेर पनि वेक्स्ली नेपाली समाजले आफ्नो देशको कला, संस्कार र संस्कृति जोगाउन भूमिका खेलेको बताइन् ।
मौलिकता र राष्ट्रियता फैलाउने कार्य तथा वेक्स्लीमा बसोबास गर्ने नेपालीको स्वास्थ्यप्रति सजग रहन विभिन्न प्रकारका फिटनेस र योगा कार्यक्रम सञ्चालन गरी प्रसंशनीय काम गर्दै आएको उनको भनाइ थियो । भविष्यमा पनि राजदूतावासद्वारा समाजलाई सहयोग र सहकार्य रहिरहने खनालले बताइन् ।
वेक्स्ली नेपाली समाजका अध्यक्ष डा. हरिश ज्ञवालीले आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथिलगायत सहभागी र सहयोगी सम्पूर्णलाई धन्यवाद दिए । अमेरिकामा ममता काफ्लेको हत्या भएकोप्रति दुःख व्यक्त गर्दै जहाँ पनि हुनसक्ने भएकाले समाधानको बाटो खोज्नुपर्नेमा उल्लेख गरे ।
यसैगरी भव्य कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै उपाध्यक्ष तथा संयोजक बिजिता गौतमले वेक्स्ली नेपाली समाजको आँगन सबैको साझा आँगन भएको बताइन् । समाजका सल्लाहकार चन्द्रबीर गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी दिए ।
महिलाहरूको पर्व भएकाले महिलाहरू नै तीजको गीतमा नाचेको देखिरहँदा वेक्स्ली नेपाली समाजको सो कार्यक्रममा भने महिलासँगै पुरुषको सामूहिक नाच ‘वारी जमुना पारी जमुना’ विशेष बनेको थियो ।
जसले कार्यक्रममा छुट्टै सुन्दरता र आनन्द थपिएको थियो । ‘घरदेश होस् या परदेश नेपाली जहाँ पुग्यो त्यहीँ नेपाल हुन्छ’ भनेझैँ भएको थियो, कार्यक्रम । तिजको मनोरञ्जन दिने गीत संगीतको जिम्मा DJ DINN ले लिएका थिए ।