लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरूको स्वागत गरेको छ । बौद्ध परम्परामा अत्यन्त महत्त्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बामा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे, खेन्पो, लोपेनलगायत लामा गुरुहरूलाई शनिबार ३१ अगस्टका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा स्वागत तथा सम्मान गरिएको हो । उनीहरुलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकार, आमा साथै भक्तजनले खादा लगाई दिएका थिए ।
उक्त स्वागत कार्यक्रममा लामा लुंगरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति र आयू पूजा गरिएको थियो । त्यस्तै, खेन्पो बाग्रिन्द्र शिलाले बोधिसत्त्वको अभ्यास विषयमा प्रवचन दिएका थिए । साथसाथै, खेन्पो सेनाङ ग्याम्जोले संघ दान तथा बर्षवासको विषयमा प्रवचन दिएका थिए । सो अवसरमा बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी यूकेको स्थापना, यसले दिँदै आएका विभिन्न सेवाहरूको बारेमा जानकारी गराउँदै गुरुहरूलाई स्वागत गरेका थिए ।
बेलायतका विभिन्न गुम्बामा आबद्ध तथा हालै नेपालबाट आएका धर्मगुरुहरूलाई स्वागत तथा सम्मान गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा निमा लुंगरिक रिन्पोछे, खेन्पो बाग्रिन्द्र शिला, खेन्पो सेनाङ ग्याम्जो, खेन्पो सन्तोष गुरुङ, खेन्पो नरेश गुरुङ, खेन्पो दावा तेन्जिन, लामा रक्षे गुरुङ, लामा काजी गुरुङ, लामा देबिरास गुरुङ, लामा गमबहादुर गुरुङको सहभागिता थियो ।
बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङदावा शेर्पाको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बीसीसी यूको संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, संस्थापक आमा प्रमुख, पूर्व आमाप्रमुख, प्रमुख सल्लाहकार तथा सल्लाहकार, कार्यसमिति, आमा समितिलगायत भक्तजनको बाक्लो उपस्थिति थियो ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षता र महासचिव मेजर हितमान गुरुङले सञ्चालनमा सम्पन्न कार्यक्रमको अन्त्यमा बीसीसी यूकेले गुरुहरूलाई संघ दान र भक्तजनहरूले दर्शन गरेका थिए ।