लन्डन । बेलायतवासी नेपाली सफल व्यवसायी एवं समाजसेवी कमल गुरुङ 'मिडिया पर्सनालिटी अफ द इयर-२०२४' बाट सम्मानित भएका छन् ।
नेपाल ब्रिटेन डटकमको १७ औं वार्षिकोत्सकका अवसरमा आइतबार आयोजित विशेष समारोहमा सफल व्यवसायी गुरुङ 'मिडिया पर्सनालिटी अफ द इयर-२०२४' सम्मानित भएका हुन् । सम्मानित गुरुङ कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी अध्यक्ष डा. बद्री केसी लगायतले सम्मान गरे । कास्कीको धम्पुसमा जन्मिएका गुरुङ गत मे महिनामा नेपाल र इंग्ल्याण्डबीच भएको मैत्रीपूर्ण फुटबलको सुत्रधार हुन् । बेलायतमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई उतारेर उनले चर्चा कमाएका थिए ।
चाइना ओरियन्टिल सुपरमार्केट अल्डरसटका प्रोपाइटर गुरुङ आफ्नो व्यवसायका अतिरिक्त परोपकारी काममा सक्रिय छन् । उनले जन्मथलो धम्पुसको विकासका लागि धम्पुस समाज युकेमार्फत २० लाख रुपैयाँको परोपकारी काम गरेका थिए । धम्पुसको यदय माविको भवन निर्माणका लागि उनको नेतृत्वमा डेढ करोड रुपैयाँ संकलन गरेका थिए । सन् २०१४ मा उदय स्कुल धम्पुसका लागि डान्सर तेरिया मगर र चर्चित गायक प्रमोद खरेल र लोकदोहोरी गायक मिलन लामाको उपस्थितिमा च्यारिटी आयोजना गरेका थिए ।
स्व बाबा उदयबहादुर गुरूडद्वारा विक्रम सम्बत् २०१६ मा नेपाली रुपैयाँ १००० र जग्गा दान दिएबापत उहाँको नाममा निर्मित उदय स्कुलको भवन जीर्ण भएकोले उनको नेतृत्व र धम्पुस समाज युकेको पहलमा कलाकारहरु तेरिया, प्रमोद, मिलनलाई युकेमा ल्याई करिब ३० लाख रुपैयाँ सहयोग गरी पहार ट्र्स्टको सहयोगमा भवन निर्माण गरेका हुन् । त्यस्तै सन् २०१५ मा नेपालमा गएको बिनासकारी भूकम्प गएको बेला बेलायती सेनासँग सहकार्य गर्दै नेपालमा २० लाख बराबरको विभिन्न राहत सामान नेपाल राहत पठाउन सफल भएका थिए ।
भूकम्प प्रभावितलाई उनले लत्ताकपडा संकलन गरेर समेत पठाएका थिए । त्यस्तै पोखरेली मञ्च युकेमार्फत पोखरा म्याराथन सञ्चालनमा संयोजकको भूमिका निभाएर योगदान दिएका थिए । पोखरा म्याराथनका लागि पोखरा भूपू खेलाडी मञ्चसँग सहकार्य गर्न पहिलो संयोजकको भूमिका निर्वाह गरी आर्थिक संकलन पनि गरे । उनी बुद्धिस्ट गुम्बा रेडिङ युकेको महासचिव, बगर भाइखलक, तमु धीं यूके उपाध्यक्षलगायत संघ संस्थामा काम गरिसकेका छन् ।
यस्तै एन्फा कास्कीको बेलायतका लागि कमल (२०२२-२०२७) का लागि एम्बेसेडर पनि हुन् । यस्तै पोखरा कास्कीमा भेटेरानहरुको फुटबल खेलाउने निर्णयको स्वागत गर्दै हरेक वर्ष सहयोग गर्न युकेमा कमलले संयोजन गर्ने गरेका छन् । यस्तै च्यारिटी डिनरनाइट, गजल नाइट, खेलकुद प्रतिस्पर्धाहरुमा उनले लिड रोल गर्दै आएका छन् । तमु ल्होल्छारको संयोजन गरेको अनुभव पनि उनीसँग छ । यसअघि कमल सहारा यूकेले बर्सेनि दुई जनालाई विशेष योगदान दिएबापत दिइने 'सहारा अवार्ड २०२२' बाट सम्मानित भएका थिए ।
सन् २००९ बाट बेलायतको रेडिङमा बस्दै आएका कमलले पीएन क्याम्पस पोखराबाट शिक्षाशास्त्र संकायमा ब्याचलर तहसम्म अध्ययन गरेका छन् । उनले व्यवसाय सुरु गरेको २०१० हो । सुरुको व्यवसाय थियो एभरेस्ट मनि एन्ड हिमायन ट्राभल अल्डरसट (२०१०-०१६)। त्यसपछि गोर्खा बफेट रेस्टुरेन्ट वेमाउथ (२०१६-०१९), चाइना ओरिन्टल सुपरमार्केट अल्डरसट (२०२०) सञ्चालन गरेका छन् ।