लन्डन । तनहुँ समाज यूकेले गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य जित प्रकाश आले मगर तथा उनकी धर्मपत्नी श्रीमती शारदा देवी आले मगरलाई स्वागत तथा सम्मान गरेकाे छ ।
बेलायत भ्रमणमा रहेका सांसद मगरकाे सम्मानमा २५ अगस्टको साँझ रात्रिभाेज आयोजना गरिएको थियो । सो अवसरमा अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष केशर रानाको अध्यक्षता तथा महासचिव बोदविक्रम थापाले सञ्चालन गरेका थिए ।
कार्यक्रममा संरक्षक लेख गुरुङ, वरिष्ठ सल्लाहकारहरू रञ्जन मल्ल, मेजर लोक गुरुङ, वरिष्ठ उपाध्यक्ष बेदराज पराजुली, सचिव देवी आले, सदस्य डा. प्रकाश गौतम, केशवटार समाज र किहुँ समाजका अध्यक्षद्वय रुक आले र ऋषि रानालगायत २० जनाभन्दा बढी सदस्यको उपस्थिति थियो ।
कार्यक्रमको सुरुआतामा उपस्थित सदस्यले आफ्नो परिचयपछि सांसद मगरले नेपालको वर्तमान अवस्था, चुनौती र विविध समसामयिक विषयमा प्रकाश पारे । उपस्थित बहुसंख्यक सदस्यले देशको विविध समस्या र सम्भावित उपाय विकल्पको बारेमा पूर्वमन्त्रीसमक्ष आआफ्नो धारणा राखे ।
वरिष्ठ सल्लाहकार मेजर लोक गुरुङले ब्रिगेड अफ गोर्खाजको अवस्था सन १८१५ देखि २०२४ सम्मको स्थितिबारे महत्त्वपूर्ण जानकारी दिए ।
अन्तरक्रियापश्चात् अतिथिलाई तनहुँ समाज यूकेको तर्फबाट सम्झनाका लागि मायाको चिनो र उपहार हस्तान्तरण गरिएको थियो । यति छोटो सूचना र अति व्यस्तताको बाबजुद उपस्थित सबैमा अध्यक्ष रानाले धन्यवाद ज्ञापन गरे ।