लन्डन । तमु धीं यूकेको आयोजनामा लन्डनमा आइतबार १५ औँ नेपाली मेला भव्य रूपमा सम्पन्न भएको छ । केम्पटन पार्क रेस कोर्समा भएको मेलामा मेलामा करिब आठ हजारभन्दा बढी सहभागी भए ।
बेलायतका ४० नेपाली संघसंस्थाले विभिन्न मौलिक झाँकी र नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न संघसंस्थाले झाँकी प्रस्तुत गरे । सिली साकेला, लाखे, ट्होंटे, सालैजो जस्ता नाच देखाइएको थियो । झाँकी र नृत्यसँग विभिन्न ६५ वटा स्टलहरू मेलाका आकर्षण बने । विगतमा जस्तै भव्य र सभ्य बनेको मेलामा कसले के भने त:
रोशन खनाल, नेपाली दूतावास लन्डन, कार्यवाहक प्रमुख
यस वर्षको नेपाली मेला अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ । बहुजातिय, बहुधार्मिक र बहुसांस्कृतिक नेपालको वास्तविक चित्रण यस मेलाले गर्न सकेको छ । उपस्थिति विगतभन्दा बढी थियो । स्टलहरू पनि बढी थियो । मौसम पनि राम्रो भयो । हरेक वर्ष सुधार हुँदै गइरहेको छ । यस कार्यक्रम तमु धीं यूकेसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । सबैलाई दूतावासको तर्फबाट धेरै धेरै बधाई तथा धन्यवाद दिन चाहन्छु।
सूर्य गुरुङ, एनआरएनए यूके पूर्वअध्यक्ष
नेपाली मेला एकदमै राम्रो भयो । बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू जति पनि यहाँ आउनुभयो, उहाँहरूले भरपुर मनोरञ्जन लिनुभयो होला भन्ने अपेक्षा गरेको छु। नेपाली दूतावासबाट, आनआरएनए आईसीसीबाट पदाधिकारीहरू आउनुभयो । पत्रकार साथीहरू आउनुभयो । यहाँ प्रस्तुत भएका झाँकी, नृत्यलगायतबाट दर्शकले मनोरञ्जन लिनुभयो होला भन्ने अपेक्षा छ ।
डा.बद्री केसी, एनआरएनए आईसीसी अध्यक्ष
अहिले संसारमा ११० भन्दा बढी देशमा नेपालीहरू हुनुहुन्छ । अस्ट्रेलिया अमेरिका, यूके धेरै ठाउँमा नेपाली मेला गरिन्छ । म पहिलो पटक यूकेमा मेलामा आएको छु । बिहानदेखि बेलुकासम्म हेर्दाखेरि असाध्यै प्रभावित भएको छु । सम्भवतः नेपालीहरूले गर्ने मेलाहरूमा सबैभन्दा ठूलो, सबैभन्दा ग्रान्ड र सबैभन्दा सफल यही मेला हो र अध्यक्ष हरि गुरुङलगायत आयोजक सबै साथीहरूलाई हार्दिक बधाई र धन्यवाद भन्न चाहन्छु ।
हरि गुरुङ, तमू धीं यूके अध्यक्ष
नेपाली मेलालाई सफल पार्न उपस्थित हुनुभएकोमा सबैलाई अन्तर हृदयबाट नै आभार व्यक्त गर्न चाहन्छु । यो नेपालका हरेक वर्ग हरेक जाति, वर्ग, र धर्म संस्कार मान्ने नेपालीहरूको मेला हो । हाम्रो यो उच्च संस्कार संस्कृति र भेषभूषालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भनेर यहाँहरू आज पाल्नुभएको छ । यो कुनै अमुक जाति, कुनै अमुक संस्था र कुनै अमुक राजनीतिक दलका लागि गरिएको मेला होइन। हामी विभिन्न जातजाति भएर विभिन्न धर्म संस्कृतिअन्तर्गत नेपाल र बेलायतमा छौँ । नेपाली संस्कृतिको जगेर्ना गर्ने उत्कृष्ट अभिलाषा बोक्दै तमु धीं यूकेले थालेको यो अभियान अहिले अन्य केही संघसंस्थाले पनि अनुकरण गर्न थालेको छ, जुन हाम्रो लागि अत्यन्तै गर्वको कुरा हो । हामीले रोपेको बिरुवा झाँगिन सुरु भएको छ । हामीसँग १५ वर्षको तितामिठा अनुभवहरू छन् । हाम्रो संस्कृतिको संरक्षण मात्र होइन यसलाई पुस्तान्तरण पनि गर्नुपर्छ । यहाँ पाल्नुभएका सबै संघसंस्थाप्रति आभारी छु ।
सुवास सिंह गुरुङ, पूर्वअध्यक्ष तमु धीं यूके
१५औँ नेपाली मेला भव्य तथा सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भयो । मेलामा आउनुभएको पाहुना र संघसंस्थाहरूलाई धन्यवाद । यहाँहरूको माया र सहयोग भविष्यमा पनि पाउने आशा राखेका छौँ । सुधार गर्नुपर्ने केही छन् भने दिनुहोला । त्यसलाई लिएर अगाडी बढ्नेछौँ ।
परशु गुरुङ, मेला संयोजक
‘हाम्रो संस्कृति, हाम्रो परम्परा र हाम्रो गौरव’ भन्ने हाम्रो नाराका साथ विगत १५ वर्षदेखि नेपाली दूतावासको सहकार्यमा तमु धिं यूकेले निरन्तर यो वृहत् कार्यक्रम आयोजना गरिरहेको जानकारी गराउँछु । मौसम राम्रो भयो । धेरै संघसंस्था सहभागी भए । उहाँहरूलाई धेरै धेरै धन्यवाद । सबैले समयलाई ख्याल गर्दिनुभयो भने राम्रो हुन्छ । कार्यक्रम एकदमै स्मोथ्ली अगाडी बढ्यो । एम्बासडर कप विजेता पासा पुच गुठी यूकेले एम्बासडर तथा एनआरएनए कप जितेको छ भने फस्ट रनर अप भयो किरात याक्थुङ चुम्लुङ यूके हुनुभयो । सहभागी सबै संस्थालाई धेरैधेरै धन्यवाद!
जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष तथा स्टल संयोजक
मेला सफल भएको छ । मेलामा सहभागी भएर सहयोग गरिदिनुएकोमा आभार तथा धन्यवाद व्यक्त गर्दछौँ । भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका छौँ ।
कुमार गुरुङ
एकदम खुसी लाग्यो । रमाइलो भयो । सबैभन्दा खुसी चाहिँ पासा पुचले जित्दा लाग्यो । पोहोर पनि सान्त्वना पाएको थियो । उनीहरूले राम्रो गरेको थियो । भनेजस्तै भयो ।
क्या. दीपक घले
झाँकी र नृत्य गर्ने साथीहरू तथा संघसंस्थाहरूले धेरै राम्रो गर्नुभयो । यो मेला हामी सबै नेपालीहरूका लागि हो । तमु धींले नेतृत्व गरेको मात्रै हो ।
पासा पुच गुठी, अध्यक्ष
नेपाली मेलामा हामीले एम्बासडर कप एनआरएन कप झँकीमा प्रथम नृत्यमा दोस्रो स्थान हासिल गरेका छौँ । हरेक वर्ष हामी यहाँ आएर आफै रमाइलो गर्छौं । यसपालि सबै पाएका छौँ । यसका लागि म पासा पुच गुठीका सबै च्याप्टर साउथ इस्ट लन्डन, लन्डन च्याप्टर अल्डरसट च्याप्टर, रेडिङ च्याप्टर सबैलाई धन्यवाद दिन चाहन्छु । यसैगरी नेपाली मेलालसहित यूके डायस्पोराको हरेक कार्यक्रमहरूमा कला संस्कृतिको संवर्द्धन गर्नुपर्ने ठाउँहरूमा गुठी सधैँ अगाडी रहन्छ ।