लन्डन । बेलायतमा आयोजित १५ औं नेपाली मेलामा तमु समाज युकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ सम्मानित भएका छन् ।
केम्पर्टपार्कमा आइतबार २५ अगस्टमा आयोजित मेलामा आयोजक तमु धीं युकेले समाजसेवी शिवकुमार र मिना गुरूङ दम्पतीलाई फेटा, दोसल्ला, प्रमाणपत्र, पछ्यौरासहित सम्मान गरेको हो । सम्मानित दम्पतीलाई प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनकी कार्यबहाक राजदूत रोशन खनाल, तमु धीं युकेका अध्यक्ष हरि गुरुङ र आमा समूह अध्यक्ष सन्ध्या गुरुङले फेटा, दोसल्ला र प्रमाणपत्र प्रदान गरे ।
यस्तै सोही अवसरमा मगर संघ युकेका संरक्षक तथा साहित्यकार एवं गोर्खा मिडियाका सल्लाहकार घन बहादुर थापा मगर र कृष्णा थापा मगर दम्पती, सगरमाथा आरोही जोर्डन क्षेत्री, विनोद चिपालुलाई समेत सम्मान गरिएको थियो ।
शिवकुमारले तमु समाज युकेको स्थापनाकालदेखि नै बेलायत र नेपालमा सामाजिक काममा अनवरत रुपमा बिभिन्न महत्वपूर्ण पदहरूमा रहेर तमु संस्कार, संस्कृति संरक्षण संवर्द्धन र विकासका निम्ति योगदान दिँदै आएका छन् । तमु समाज युकेमा उनले दुई कार्यकाल कोषाध्यक्ष पद, एक कार्यकाल संयोजक, एक कार्यकाल उपाध्यक्ष तथा सामुदायिक भवन खरिद परियोजनाको संयोजकको कार्यभार समालेका थिए । उनी सन् २०२१ जुन महिनादेखि २०२४ को जुन महिनासम्म तमु समाज युकेको अध्यक्षको जिम्मेवारीमा रहे ।
उनको नेतृत्वमा समाजले नेपालको लमजुङ जिल्ला दोर्दी खोला बाढी पीडितलाई आर्थिक सहयोग, गोर्खा सत्याग्रह संघर्ष समिति यूकेको आन्दोलनप्रति ऐक्यबद्धता र आर्थिक सहयोग, बेलायत र नेपालमा गुम्बाहरु निर्माण तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग, नेपाली मेलामा तमु समाज युकेको सहभागिता र आर्थिक सहयोग प्रदान, नेपाली मेला २०२३ नेपाली मेलाको साँस्कृतिक नृत्य प्रतियोगितमा प्रथम स्थान ओगट्न सफल, लन्डन बरो अफ ब्रेन्टको सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज युकेको सहभगिता, युक्रेनको लागि मानवीय सहयोग, उत्तर पश्चिम लन्डनका नेपालीमूलका बालबालिकाहरुको लागि नेपाल भाषा कक्षा सञ्चालन, समाजका ज्येष्ठ नागरिकहरुको लागि अंग्रेजी भाषा कक्षा, योगा प्रशिक्षण र चियापान कार्यक्रम सञ्चालन, पाकिस्तानको बाढीपीडितलाई आर्थिक सहयोग र कमनवेल्थ एन्ड गोर्खा गार्डेन चौतारी निर्माणको लागि आर्थिक सहयोग गरेको थियो । यसैगरी तमु धीं नेपालको ३९औं स्थापना दिवसमा तमु समाज युकेको अध्यक्ष शिवकुमारको सहभागिता र रोधीं घर निर्माणका लागि आर्थिक सहयोग, पोखरामा रहेको तमु संग्रहालयमा घाँटु नाचको घाँटुनीहरुको पूर्ण कदको दुई थान प्रतिमा स्थापना गरेको छ ।