लन्डन । तमु धीं यूकेको आयोजनामा आइतबार लन्डनस्थित केम्पर्टनपार्कमा १५औँ नेपाली मेला हुँदैछ । लन्डनस्थित नेपाली राजदूतावासको सहकार्यमा हुने मेलास्थलमा बिहानैदेखि चहलपहल सुरु भइसकेको छ ।
आयोजक तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले यस पटकको मेलामा केही फरकपन दिने लक्ष्य रहेको र सोहीअनुरुप फरक झाँकी, रुट, स्टेजसमेत परिवर्तन गरिएको बताए । मेला सबै बेलायतवासी नेपालीको भएकाले उपस्थित भएर सफल पार्न सबैमा उनले अनुरोध गरेका छन् । मेलामा सात हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेका छन् ।
मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङका अनुसार मेलामा विभिन्न मौलिक झाँकी र नृत्यका लागि बेलायतस्थित ४२ नेपाली संघसंस्थाले सहभागिता जनाउने छन् । मेला सम्पन्न गर्न करिब ३९ हजार पाउन्ड खर्च अनुमान छ ।
यसैगरी, विभिन्न प्रायोजक, दाता तथा प्रवेश शुल्कमार्फत ४३ हजार पाउन्ड आम्दानी हुने उनले जनाए । उत्कृष्ट झाँकी र नृत्य प्रस्तुत गर्ने समूहलाई १ हजार १०० पाउन्डको एम्बासडर कप प्रदान गरिने छ । उक्त पुरस्कार लन्डनस्थित नेपाली दूतावासले प्रायोजन गर्नेछ ।
यसैगरी, रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउन्डसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । झाँकीमा वा नृत्यमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई ५०० पाउन्ड, रनरअपलाई ३०० पाउन्ड र सेकेन्ड रनरअपलाई २०० पाउन्ड नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउन्ड प्रदान गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
मेलाको अर्को आकर्षणका रूपमा रहेको राफल ड्र मा ३००, २०० र १०० पाउन्ड पुरस्कार राखिएको छ । मेला हेर्न १२ वर्षभन्दा माथिकालाई ५ पाउन्ड, कार पार्किङका लागि ५ पाउन्ड शुल्क तोकिएको छ । १२ वर्ष मुनीका बालबालिकालाई भने प्रवेश शुल्क लाग्नेछैन । मेलामा नेपाली खाना, हस्तकला, पोसाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका ५० वटा व्यापारिक स्टल रहने र यो अझ बढ्ने आशा गरिएको उनको मेला संयोजक तथा उपाध्यक्ष गुरुङले जानकारी दिए ।
मेलाले बेलायतको नेपाली समुदाय र संघसंस्थाबीच सम्बन्ध प्रगाढ बनाउन एवं स्थानीय समुदायमा नेपाली कला, संस्कृति, रहनसहन र परम्परा चिनाउन मद्दत पुगेको पनि उनले बताए । मेलामार्फत नेपाली कला संस्कृति, भेषभूषा दोस्रो पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको छ । आपतकालीन अवस्थामा प्राथमिक उपचार र सुरक्षा व्यवस्था मिलाइएको छ।
मेलाका प्रमुख प्रायोजकहरू नेपाली बियर, भरान हेल्थ केयर, एनआरएनए यूके, वाईबीसी, मोमो स्टेसन, गोर्खा ग्रोसरी, होली काउ, मोमो किङ, आईआरओ सुसी, कभी कफी रहेका छन् । तमु धीं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा सन् २००९ देखि ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ मेला गर्दै आएको छ ।