लन्डन । लन्डनस्थित केम्पर्टन पार्कमा आइतबार हुने नेपाली मेलास्थल झकिझकाउ पारिएको छ । मेलास्थलमा स्टलहरू राखिसकिएको छ । स्टेज निर्माण, सजावट, ब्यानर राख्नेलगायतका काम भइसकेको आयोजक तमु धीं यूकेले जनाएको छ ।
लन्डनस्थित नेपाली राजदूतावासको सहकार्यमा तमु धीं यूकेले मेला आयोजना गरेको हो । मेला बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । आयोजक तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले यस पटकको मेलामा केही फरकपन दिने लक्ष्य रहेको र सोहीअनुरुप फरक झाँकी, रुट, स्टेजसमेत परिवर्तन गरिएको बताइसकेका छन् ।
मेला सबै बेलायतवासी नेपालीको भएकाले उपस्थित भएर सफल पार्न सबैमा उनले अनुरोध गरेका छन् । मेलामा सात हजार दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ । मेलामा विभिन्न मौलिक झाँकी र नृत्यका लागि प्रस्तुत हुनेछन् । बेलायतस्थित ४२ नेपाली संघसंस्थाले सहभागिता जनाउने छन् । मेला सम्पन्न गर्न करिब ३९ हजार पाउन्ड खर्च अनुमान छ ।
नेपाली खाना, हस्तकला, पोसाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका व्यापारिक स्टल राखिएको छ । मेलाले बेलायतको नेपाली समुदाय र संघसंस्थाबीच सम्बन्ध प्रगाढ बनाउन एवं स्थानीय समुदायमा नेपाली कला, संस्कृति, रहनसहन र परम्परा चिनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ । मेलामार्फत नेपाली कला संस्कृति, भेषभूषा दोस्रो पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको छ ।
तमु धीं यूकेले मेला सम्पन्न गर्न उपाध्यक्ष परशु गुरुङको संयोजकत्वमा ७० जना रहेको आयजक समिति गठन गरेको छ । मेलाका प्रमुख प्रायोजकमा नेपाली बियर, भरान हेल्थ केयर, एनआरएनए यूके, वाईबीसी, मोमो स्टेसन, गोर्खा ग्रोसरी, होली काउ, मोमो किङ, आईआरओ सुसी, कभी कफी रहेका छन् ।
तमु धीं यूकेले नेपाली दूतावासको सहकार्यमा सन् २००९ देखि ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ मेला गर्दै आएको छ ।