पोखरा । पञ्चासे हर्पनडाँडा समाज यूकेले क्यान्सरपीडित पोखरा निवासी देवी गुरुङलाई ५ लाख ५३ हजार २४० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
मकनपुर गाउँका प्रतिनिधि, समाजका सक्रिय सदस्य लालबहादुर घलेले उक्त रकम देवीको माइतीघर पोखरामै पुगेर हस्तान्तरण गरेका हुन् । लाल घले हालै नेपाल बिदामा परिवारसँग छन् । "विदेशमा भएको मेरो माइती गाउँका आफन्तहरुले यसरी आपत परेको बेला संझेर मद्दत गर्नुभएकोमा अभारी छु र मलाई क्सान्सरसँग लड्न सक्छु भन्ने आत्मबल बढेको छ,' देवीको भनाइ उद्धृत गर्दै लाल घलेले सुनाए ।
५१ जना बेलायतका सदस्यहरु र कुद्वीडाँडा गाउँ, पोखरा हुँदै हाल अमेरिकाको मेनिस्टोटामा बस्ने डमर गुरुङले पनि आर्थिक सहयोग गरेको छ । संस्थाका कोषाध्यक्ष कृष्ण घले छुट्टीमा भएकाले रकम संकलन गर्ने र नेपाल पठाउने काम सहकोषाध्यक्ष देवबहादुर घलेले गरेका थिए ।
देवी गुरुङको बाबाआमा बेलायतको रेडिङ सहरमा बस्छन् । साविक भदौरे तामागी गाविस कुद्वीडाँडा गाउँबाट आएका हुन् । छोरी देवीको श्रीमान् कोभिडको कारण गत वर्ष निधन भएको थियो । छोरी देवीलाई क्यान्सर लागेपछि परिवारमा तनावपूर्ण आवस्थ देखियो । बाबाआमाले नै हालसम्म सहयोग गरिरहेका छन् ।
पञ्चासे हर्पनडाँडा समाज यूके २०१२ सालमा स्थापना भएको हो । पोखरा महानगरपालिका वार्ड नम्बर २३ भित्र पर्ने सिधाने, कुद्वीडाँडा, दम्दमे र मकनपुर चार गाउँकावासीहरु बेलायतमा आई बसोबास गरेकाहरुको समाज हो । उक्त समाजले आफ्नो गाउँघरमा आपतविपत परेका बेला धेरै नै आर्थिक सहयोग गरिसकेको छ ।
२०२२ सालमा अध्यक्ष देवकाजी गुरुङको कार्यकाल सुरु भए यताको यो पहिलो परोपकारी काम हो । अध्यक्ष गुरुङले समाजका मनकारी सदस्यहरुलाई धन्यवाद दिएका छन् । अध्यक्ष गुरुङले देवीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै भविष्यमा आइपर्ने कामहरुमा यस्तै प्रकारको मद्दत समाजमा पाउने आशा ब्यक्त गरे ।