अल्डरसट सहर धर्तीको स्वर्ग जस्तो
आहा ! कति सुन्दर पूर्णेको जुन जस्तो यो
घरदेशको सपनाको फूलबारी हो
यो परदेशको बिपनाको घरबारी हो
कुलवीर भीसीहरु वीरताको कथा लेख्छन्
कर्मवीर गोर्खाहरु गौरवको गाथा गाउँछन्
पौरखी हातभरि सिर्जना ब्यूँझिरहन्छ
पसिनाको डोबभरि तिर्सना रमाइरहन्छ
गुम्बा र मन्दिर यहाँ आस्था र विश्वास हो
मेला र उत्सव यहाँ आपसी सद्भाव हो
यहाँ घाटु र सोरठी पिरतीको भाका बोल्छ
यहाँ सिली र साकेला संस्कृतिको भाव खोज्छ
वृद्धा, युवा सबै मिली प्रेमको बाटो खोजी गर्छ
चन्द्र, सूर्य ध्वज लिई नेपाली हुनुमा गर्व गर्छ
संस्कृतिको तरेलीमा नाच्छ दसैं र तिहार
संस्कारको परेलीमा रम्छ माघी र ल्होछार
रीति र रिवाज नेपाली नेपाली माटो बसाउने
भेष र भुषा नेपाली मिनी नेपालले चिनिने
नेपाली जातजातिलाई उनेको एउटा मालामा
विविधताको प्रितलाई प्रेमिल नेपाली गलामा ।