लन्डन । दुर्लुङ समाज यूकेको यस वर्षको १६औँ गृष्मकालीन बीबीक्यू तथा चेलीबेटी भेटघाट कार्यक्रम १७ अगस्ट २०२४ मा सम्पन्न भएको छ । मिचेटस्थित तमु धीं भवनमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ ।
दुर्लुङ समाज यूकेका अध्यक्ष कुलराज गुरुङ, संस्थापक अध्यक्ष नरजङ गुरुङ, एनआरएन यूकेका अध्यक्ष हितकाजी गुरुङ र समाजका ज्येष्ठ नागरिक लोकबहादुर गुरुङले संयुक्त रूपमा पानसमा दीप बालेर सुरु गरेका छन् ।
समाजका सचिव शक्तिमान गुरुङले सुरक्षा र स्वास्थ्यबारे जानकारी गराउँदै कार्यक्रम सञ्चालन गरेका थिए । धरम बल गुरुङले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै स्वागत मन्तव्य राखेका थिए ।
समाजका संस्थापक अध्यक्ष नरजङ गुरुङ, पूर्वअध्यक्षहरू क्या. जीवन कुमार गुरुङ, जुवारीलाल गुरुङ र एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले संस्थाको विषयमा शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष कुलराज गुरुङले कार्यक्रममा आर्थिक सहयोग र पेय पदार्थ प्रायोजन गर्नेहरूको नामावली वाचन गरेर सुनाएका थिए । उनले उपस्थित सदस्य तथा चेलीबेटी र ज्वाईंहरूलाई पनि धन्यवाद दिए ।
त्यसपछि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । जसमा रुविना गुरुङ र सुमी गुरुङको एकल नृत्यसहित सुमी, जरिना गुरुङ र सुजिता गुरुङको सामूहिक नृत्यले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो ।
मणिराज गुरुङ र सचिन गुरुङले प्रवेश शुल्क र राफल ड्रको व्यवस्थापन गरेका थिए । सो अवसरमा समाजका नयाँ सदस्यहरू र पहिलो पटक उपस्थित भएका पाहुनालाई ज्येष्ठ नागरिक लोकबहादुर गुरुङले खादा लगाएर स्वागत गरेका थिए ।
अन्त्यमा नेपालबाट आएका लोकदोहोरी कलाकारहरू राजन गुरुङ र कला लम्सालको प्रस्तुतिमा दर्शक झुमेका थिए । पुनः अर्को वर्ष भेट हुने वाचासहित कार्यक्रम साँझ साढे ९ बजे सम्पन्न भएको थियो ।