लन्डन । धम्पुस परिवार यूकेको १६औँ वार्षिक भेटघाट सफलतापूर्वक सम्पन्न भएको छ ।
समाजका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा शनिबार फार्नबोरोस्थित सामुएल कोडी स्पोर्टस हलमा भएको कार्यक्रम अध्यक्ष कुमार गुरुङ र ज्येष्ठ नागरिक कप्तान प्रेमबहादुर गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा नेपालको राष्ट्रिय गान बजाइएको थियो ।
सायरीबाट सुरु गरी सञ्चालन गरेको औपचारिक कार्यक्रम समाजका महासचिव गोलमान गुरुङले सञ्चालन गरेका थिए भने प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक धनबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
बधाई तथा सम्मानको कार्यक्रममा शैक्षिक क्षेत्रमा सफलता हासिल गरेका नानीबाबुहरू जेसिका गुरुङ, इशान गुरुङ र उद्देश्य गुरुङलाई समाजका अध्यक्ष कुमार गुरुङले खादा लगाई औपचारिक रूपमा सम्मान गरियो । जसमा बाबु उद्देश्य गुरुङले जीसीएसईमा उत्कृष्ट अंक ल्याएर तमु धीं यूकेले आयोजना गर्दै आएको डा. हर्क एवं डा. चन्द्र अवार्ड विजेता भएकोमा सम्मान गरिएको थियो । उक्त अवार्ड विजेताहरू हालसम्म सबैले राम्रो नमुना देखाएका छन् ।
कार्यक्रममा नेपालबाट बेलायत भ्रमणमा रहेका अमरबहादुर गुरुङ र देवी गुरुङलाई स्वागत सम्मान गरिएको थियो । साथै नव दाम्पत्य जोडीहरू रवीन्द्र गुरुङ र यशोधा गुरुङ साथै कृपा गुरुङ र आंशिक गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो ।
त्यसैगरी हङकङबाट बेलायतमा आएका चिजकाजी गुरुङ र मन्त्री गुरुङ परिवारलाई नयाँ सदस्यता लिएकोमा स्वागत तथा सम्मान गरियो ।
उक्त कार्यक्रम पूर्ण सफलताको लागि प्रायोजन गरेका किमबहादुर गुरुङ, गमबहादुर गुरुङ, रुद्र (जयन्द्र) गुरुङ र ज्वाइँ हर्कबहादुर गुरुङलाई फूलका गुच्छा र खादाले सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रमको अन्त्यतिर चेलीबेटीका तर्फबाट ध्रुव गुरुङ र शान्ति गुरुङले माइतीका लागि मन्तव्य राखिन् । त्यसैगरी चेलीबेटीले सदाझैँ कोसेलीस्वरुप रोटी र रक्सीले माइतीहरूलाई सम्मान गरे । रोटी र रक्सी धम्पुसे चेली ध्रुव गुरुङ र ज्वाइँ विनोद गुरुङले प्रायोजन गरेका थिए ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायिका टउ सुवा (सबिना) गुरुङ र मोडेल, डान्सर तथा नायिका लक्ष्मी गुरुङलाई पनि स्वागत सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रममा दुवै कालाकारले धम्पुसको ‘सुनाखरी सुनगाभा गुराँस जस्तो यो मन, साट्न आउनु धम्पुसमा हिमाल जस्तो जोवन’ गीतमा सुन्दर स्वागत नृत्य प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारिन् ।
औपचारिक कार्यक्रमको अन्तमा समाजका अध्यक्ष कुमार गुरुङले छोटो मन्तव्य राख्दै वार्षिक भेटघाट कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक सहसंयोजक कुमार गुरुङ र देवेन्द्र गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । सांस्कृतिक कार्यक्रममा चर्चित लोक दोहोरी गायिका टउ सुवा (सबिना) गुरुङ र मोडेल, डान्सर तथा नायिका लक्ष्मी गुरुङले उत्कृष्ट नाच र गीत प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाए । दुवै कलाकारको उत्कृष्ट अनि मनमोहक नाच र सुमधुर गीतले दर्शक सबैको मन जितेको थियो ।
राफल ‘ड्र’ प्रथम पुरस्कार सुनको चन्द्रमा र अन्य तीन वटा पुरस्कारले पनि कार्यक्रमको रौनकता थप्यो । उक्त ‘राफल ड्र’ देवेन्द्र गुरुङ र रवि गुरुङले सञ्चालन गरेका थए भने भाग्यशाली विजेतालाई समाजका अध्यक्ष गुरुङले पुरस्कार वितरण गरे ।
उक्त कार्यक्रममा खाना व्यवस्थापनमा ओजोन एएम रेस्टुरेन्ट, पेय पदार्थमा तीर्थ पुन, हर्क गुरुङ, अमृतमान गुरुङ र सम गुरुङ, साउन्ड सिस्टम व्यवस्थापनमा कमल थापा, फोटोग्राफीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र भिडियोग्राफीमा कोन्मे इन्टरटेनमेन्टका डाइरेक्टर सन्तोष कोन्मे गुरुङले विशेष भूमिका खेलेका थिए । अन्त्यमा आफू खुशीको नाच नाचेर कार्यक्रम समापन भएको थियो ।