लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ यूकेले आइतबार १८ अगस्ट २०२४ मा आयोजना गर्ने धर्मदेशना कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा (थुप्तेन येशे) ले भर्दो थ्योडोल छेन्मो अन्तर्गत प्रस्ट्याउने कार्यक्रम र अन्तरक्रियाको तयारी लगभग सकिएको गुम्बाका महासचिव कमल गुरुङले जानकारी दिएका हुन् ।
'१८ अगस्ट आइतबारको कार्यक्रमको तयारी करिब सकिएको छ । कार्यक्रमको दिन बिहानै आमा टोली र मूल कार्यसमितिले तयारी गर्नेछ,' गुम्बाका महासचिव गुरुङले भने । उनका अनुसार विगतमा भोजन दान गर्ने परिपाटी रहेकोमा यसपटक त्यसलाई हटाएर प्रवेश शुल्कबापत २० पाउन्ड लिइने छ । त्यसबाट जम्मा भएको रकमले हलको भाडा र साकाहारी खाना तथा फलफूल खुवाइनेको व्यवस्थापन गरिने महासचिव गुरुङले बताए ।
अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त कार्यक्रममा सहभागी हुन बेलायतवासी नेपाली समुदायलाई आयोजकले आग्रह गरेका छन् । गुम्बाका अध्यक्ष ई खेमबहादुर गुरुङ र महासचिव कमल गुरुङले गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा (थुप्तेन येशे) को प्रवचन सुन्न र वाङ (आशीर्वाद) थाप्न सबै समक्ष अनुरोध गरेका छन् ।
मूल गुरु शिर लामाले भनेका छन्, 'भर्दो थ्योडोल छेन्मोको धर्म देशनालाई बृहत् सरल र सबैले बुझ्ने तरिकाले स्पस्ट पार्ने तयारी मैले गरेको छु । धर्मदेशना एक/डेढ घण्टाको हुने र त्यसको बीचमा विश्राम पनि हुनेछ ।' उक्त दिन ग्रहशान्तिका लागि च्योयो पूजा पनि हुने छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मा सबै कार्यक्रम हुने मूल गुरु शिर लामाले जानकारी दिए । ११ देखि लगभग २ बजेसम्मको अवधिमा धर्मदेशना गरिने छ भने त्यसबीचमा केही अन्तर्क्रिया गरिने योजना रहेको छ । यसअघिका धर्मदेशना अन्तरक्रियामा मृत्यु संस्कारबारेमा धेरै मानिसहरुको चिन्ता, चासो र जिज्ञासा उठेको आफूले महसुस गरेको भन्दै मूल गुरु शिर लामाले मृत्यु संस्कारलाई सजिलो, सहज बनाउन हामीले ज्ञान र शिक्षा लिन आवश्यक देखिएकोले १८ तारिखमा धर्म देशना (अन्तराभव श्रवण महाविमुक्ति) कार्यक्रम राखिएको प्रस्ट पारेका छन् ।
बेलायतमा विद्युतीय माध्यमबाट शव जलाउने गरिन्छ । त्यसक्रममा गरिने विधि, चाहिने सामग्री, कस्तो ठाउँ उपयुक्त हुन्छ, घरमै वा गुम्मा पार्थिव शरीर राखेर गर्दा कस्तो हुन्छ लगायत विषयमा जानकारी गराइने मूल गुरु शिर लामाले बताए । यस्तै सेप्टेम्बरको २ तारिखबाट ८ तारिखसम्म बुद्धिस्ट गुम्बा रेडिङ यूके प्रज्ञापारामिता ग्रन्थ १६ रहेको र त्यसलाई ७/८ जना लामागुरुबाट वाचन गर्ने उद्देश्य अनुरुप पूजा राखिएको जानकारी गराएका छन् ।
प्रज्ञापारामिता वाचन अनुष्ठानका लागि एकै दिन सकाउन करिब ६० जना गुरु आवश्यक हुने भए पनि बेलायतमा गुरु अभाव रहेकोले दैनिक ६/७ जनाको दरले ७ दिन वाचन गर्न लागिएको उनको भनाइ छ ।
विश्वशान्तिका लागि गरिने वाचन कार्यक्रममा दिइएको दान उपस्थित भक्तजनहरुलाई प्रसाद, भोजन गराउने र बचेको रकमले गुम्बाको संरचना निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।