लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको आयोजनामा तीन दिने चौथो चिल्ड्रेन समर क्याम्प सम्पन्न भएको छ । सोमबार १२ अगस्टदेखि सञ्चालन भएको क्याम्प बुधबार सम्पन्न भएको थियो ।
बेलायतमा रहेका नेपाली बालबालिकालाई बुद्धिजम, मेडिटेसन, योगा, दैनिक पूजापाठ लगायतका विषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त क्याम्पको आयोजना गरिएको हो ।
विभिन्न उमेर समूहका ३७ जना बालबालिकाको सहभागिता रहेको चिल्ड्रेन समर क्याम्पमा विभिन्न खेल खेलाइएको थियो । त्यस्तै, यसपटक मनोरन्जनका लागि गुम्बा बाहिर स्थानीय विद्यालयमा सुटिङ खेलमा सहभागी गराइएको थियो । सुटिङ, खेल तथा कुइज प्रतियोगिताका सहभागीमध्ये उत्कृष्ट बालबालिका तथा समूहलाई पुरस्कार प्रदान गरियो ।
गुम्बाका धर्म गुरु खेन्पो सेनाङ र लोपेन नर्बुले विभिन्न विषयमा प्रवचन तथा मेडिटेसन, आमा उपप्रमुख शारदा गुरुङले योगा अभ्यास गराएका थिए । त्यस्तै, संयोजक खुसीमान गुरुङले विभिन्न खेल खेलाउनुका साथसाथै कुइज प्रतिस्पर्धा सञ्चालन र भिडियो सामाग्री प्रस्तुत गरेका थिए ।
क्याम्पका लागि बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले सहभागी बालबालिकालाई चक्लेट तथा आइसक्रिम, अध्यक्ष हर्कबहादुर गुरुङले खानेपानी र उपाध्यक्ष क्याप्टेन देव घले तथा आमा सचिव तुलसी घलेले पुरस्कार र चकलेट प्रायोजन गरेका थिए । त्यस्तै, उक्त क्याम्पको सहयोगार्थ सहभागी बालबालिकाका अभिभावकले ५८१ पाउन्ड सहयोग गरेका थिए ।
बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुसीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको क्याम्पमा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, उपाध्यक्ष आङदावा शेर्पा, उपाध्यक्ष क्याप्टेन देव घले, उपाध्यक्ष रोबिन गुरुङ, आमा प्रमुख जगना गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, आमा सचिव तुलसी घले, सल्लाहकार जंगबहादुर गुरुङलगायत स्वयंसेवकको उपस्थिति थियो ।
उक्त क्याम्पको अन्त्यमा सहभागी बालबालिकालाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङले प्रमाण पत्र तथा पुरस्कार र लोपेन नोर्बुले खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा संयोजक एवं प्रमुख सल्लाहकार मेजर खुसीमान गुरुङले सबै सहभागी बालबालिका, अभिभावक र गुम्बा स्टाफलाई धन्यवाद दिए ।
बीसीसी यूकेले चार वर्षदेखि प्रत्येक वर्ष समर क्याम्पको आयोजना गर्दै आएको छ ।