लन्डन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एमपक्स (मंकीपक्स) को बढ्दो संक्रमणलाई लिएर स्वास्थ्य आपत्कालको घोषणा गरेको छ । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा यस रोगको फैलावटमा आएको द्रुत वृद्धिका साथै छिमेकी देशमा पनि संक्रमण देखिएपछि स्वास्थ्य आपत्काल घोषणा गरिएको हो ।
डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय स्वास्थ्य कानूनअन्तर्गत उच्चस्तरको चेतावनी भएको बताए ।
यस वर्ष १० अफ्रिकी राष्ट्रमा एमपक्स पत्ता लागेपछि रोग नियन्त्रण र रोकथामका लागि डब्लूएचओका अफ्रिकी केन्द्रले गत हप्ता सचेत गराएका थिए। “एमपक्सको संक्रमण अफ्रिकाभित्र र त्योभन्दा बाहिर पनि फैलन सक्ने सम्भावना रहेकाले यो चिन्ताजनक अवस्था हो,” टेड्रोसले भने ।
गत सेप्टेम्बरदेखि मध्य अफ्रिकी राष्ट्र कंगोमा एमपक्स संक्रमण बढिरहेको छ। हाल छिमेकी देशमा पनि यसको संक्रमण पत्ता लागेको छ । डब्लूएचओले सन् २०२२ मा ७० भन्दा बढी देशमा फैलिएपछि एमपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो ।
कंगोमा एमपक्सको प्रकोपले यस वर्षको सुरुदेखि ५४८ जनाको ज्यान लिइसकेको छ । सबै प्रान्त यस भाइरसबाट प्रभावित भएको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ । २६ प्रान्त रहेको कंगोका दक्षिणी किभु, उत्तरी किभु, त्सोपो, इक्वेटर, उत्तरी उबाङ्गी, त्सुपा, मोङ्गला र सङ्कुरु एमपक्सबाट सबैभन्दा बढी प्रभावित छन् ।