लन्डन । बेलायतका नवनिर्वाचित सांसद टोनी भगनले फोक्सटोन नेपाली कम्युनिटीको भ्रमण गरेका छन् । लेबर पार्टीको तर्फबाट फोक्सटोन र हेथलाई प्रतिनिधित्व गर्दै विजयी सांसद भगनले गत बिहीबार ८ अगस्ट २०२४ मा फोकस्टोन नेपाली कम्युनिटीको भवन र कार्यालय अवलोकन भ्रमण गरेका हुन् ।
फोक्सटोन नेपाली कम्युनिटीकै निमन्त्रणमा सांसद भगन सहयोगी टिम मोर्गनसँग पुगेका थिए । सांसद भगनलाई फोक्सटोन नेपाली कम्युनिटीका अध्यक्ष क्याप्टेन रामबहादुर पुनमगरले खाडाले स्वागत गर्दै बधाई ज्ञापन गरेका थिए । भ्रमण कार्यक्रममा अध्यक्ष क्या पुनमगरले फोक्सटोन नेपाली कम्युनिटीको बारेमा पावर पोइन्ट प्रिजेन्टेसन गरेपछि उपस्थित सदस्यहरुसँग परिचय गराएका थिए । अवलोकनपछि सांसद भगन फोक्सटोन नेपाली कम्युनिटीका अध्यक्षलगायत सम्पूर्ण सदस्यहरुको कामप्रति कृतज्ञ बनेका थिए भने उनले आभार प्रकट पनि गरे । उनले भविष्यमा फोक्सटोन नेपाली कम्युनिटीसँग सहकार्य गर्ने र सकेसम्म सर्जरीको कार्यक्रम पनि संचालनमा ल्याउने वचन दिएको अध्यक्ष क्या रामबहादुर पुनमगले जानकारी दिए ।
सोही क्रममा फोक्सटोन नेपाली कम्युनिटीको भवनको मध्यभागको भित्तामा राखिएको नेसनल लोटरीको नक्सा तथा लोगोलाई सांसद् भगन र अध्यक्ष पुनमगरले संयुक्त रुपमा लोकार्पण गरेका थिए । किनकि नेसनल लोटरीद्वारा फोक्सटोन नेपाली कम्युनिटीले गत जुलाई महिनामा विभिन्न शीर्षकहरुमा खर्च गर्नका लागि २ लाख ३३ हजार ६३६ पाउन्ड फन्ड प्राप्त गरेको थियो ।
कार्यक्रमा समाजमा राम्रा काम गरेकालगायत शिक्षा क्षेत्रमा उपलब्धि गरेका सदस्यहरुलाई बधाई र प्रमाणपत्र वितरण गरिएको थियो भने केही सदस्यहरुलाई बिदाइ पनि गरिएको थियो । त्यस्तै पूर्वटाउन मेयर ज्याकी मेडलाई टोकन अफ लभ प्रदान गरिएको थियो । कारण उनको कार्यकालमा नेपालको मेची नगर र फोक्सटोन टाउनलाई मितेरी नगर बनाइएको थियो ।
कार्यक्रमको अन्त्यमा फोक्सटोन नेपाली कम्युनिटीका अध्यक्ष क्याप्टेन रामबहादुर पुनमगरले सांसद टोनी भगनलगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, ज्येष्ठ नागरिकहरु, स्थानीय काउन्सिलरहरु, नेसनल लोटरी, रोयल ब्रिटिस लिजन, साफा, केन्ट पुलिस, च्यारिटी संस्थालगायत स्थानीय निकायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो। फोक्सटोन नेपाली कम्युनिटीका अध्यक्ष क्याप्टेन रामबहादुरको अध्यक्षतामा भएको कार्यक्रमलाई महासचिव डा. महा राईले संचालन गरेका थिए ।