लन्डन । नेपाली समाज नोटिंगमको आयोजनामा १२ अगस्ट २०२४ मा नेपाली मेला सम्पन्न भएको छ ।
गत हप्ता यूकेमा भएको सडक आन्दोलनले बनाएको त्रसित र कठिनाइका बाबजुद मेला ऐतिहासिक रूपमा विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको हो ।
कार्यक्रम सम्पन्न गर्न मिडल्यान्डका सबै संघसंस्था, लन्डन, वेल्स स्कटल्यान्डबाट भौतिक, नैतिक र आर्थिक सहयोग प्राप्त भएको थियो । सुनगाभा इन्टरटेन्टमेन्टको निमन्त्रणामा नेपालबाट बेलायत आएका ख्यातिप्राप्त कलाकार टीका सानु र सुमन परियारसहित स्थानीय कलाकारले बेजोड सांस्कृतिक प्रस्तुति दिएका थिए। खानाका परिकारका स्टल, कपडाका स्टल, चिया स्टल, चटपटे स्टल, ड्रिंक्स बारको स्टल राखिएका थिए ।
संस्थाका संस्थापक अध्यक्ष रण केसीले नेपाली मेलालाई सबै मिडल्यान्डवासीको स्वामित्व हुने गरी पर्वका रूपमा विकसित गर्दै लैजाने प्रणका साथ शुभकामना मन्तव्य दिए । कार्यक्रममा साना बाबुहरूको रोचक फुटबल खेल भएको थियो । यस्तै, आठ टिमबीच भलिबल प्रतियोगिता पनि भएको थियो । जसमा गलकोट टिम प्रथम र स्टकल्यान्ड टिम उपविजेता बने ।
आयोजक नोटिंगम टिम सेमिफाइनल बाहिरिए पनि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । कार्यक्रम अवधिभर सुरक्षा प्रधान गर्ने नोटिंगमसायर प्रहरीको टिम र पारामेडिक इमरजेन्सी कुर्ज टिमलाई संस्थाले धन्यवाद दिएको छ । कार्यक्रमको प्रमुख अतिथि सांसद लिलिएन ग्रिनउड, विशेष अतिथि नोटिंगम सिटी काउन्सिलका शरिफ मिस्टर लियाकत अली रहेका थिए ।
मिजल्यान्डस्थित संघसंस्थाका सामाजिक अभियन्ताले उपस्थित भई कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको भन्दै नेपाली समाज नोटिंगमका अध्यक्ष राम पन्थीले धन्यवाद तथा आभार व्यक्त गरे । कार्यक्रम सञ्चालन संस्थाका महासचिव रेशम खड्काले गरेका थिए ।