लन्डन । किरात राई यायोक्खा बेलायतले विगत जस्तै यस वर्ष शनिबार १० अगस्ट २०२४ का दिन यलम्बर स्मृति दिवस मनाएको छ । आफ्नै जग्गा किरात हाउस गेम्बलसमा भव्य रूपमा मनाइएको कार्यक्रमको अध्यक्षता किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य तारादेवी राई प्रमुख अतिथि रहेकी थिइन् । नेपाली राजदूतावासका प्रतिनिधि रामबाबु नेपाल, आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष कर्मपहाडी शेर्पा, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेमगाहा मगर, तमु धीं बेलायतका अध्यक्ष हरि गुरुङ, मगर संघ बेलायतका अध्यक्ष सिता पुन, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष कल्पना राई, संरक्षक सदस्य तथा किरात राई यायोक्खा नेपालका पूर्वअध्यक्ष डा. सुमाया राईको उपस्थिती रहेकाे थियाे ।
यसैगरी, संरक्षक सदस्य तथा किरात राई यायोक्खा हङकङका पूर्वअध्यक्ष भगवान चाम्लिङ, नेपालका पूर्व डीएसपी शिवजी श्रेष्ठ, आदिवाशी जनजाति महासंघका सचिव मेजर ईन्द्रप्रसाद राई, बीएफबीएस गोर्खाका प्रतिनिधि योगराज राई, नेपालका सन् २०२२ का बडी बिल्डर च्याम्पियन उमेश राई, गायक तथा संगीतकार दिनेश काजी बान्तावासहित विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
बिहान साढे ८ बजेदेखि पितृ (चुला) पूजा, सिकारी पूजा र धनुषवाण पूजा गरी सांस्कृतिक र मुन्धुमी रूपमा शुभारम्भ गरिएको थियो । किराँती सांस्कृतिक शृङ्खला यस वर्ष संस्थाका उपाध्यक्ष राजकुमार राईको निधन भएका कारण रद्द गरियो । किराँती राईहरू उनको निधनले दुखी: र शोकाकुल भएको बताउँदै अध्यक्षले संस्थालाई सक्रिय राख्न अरू कार्यक्रम सुचारु गरिएको जानकारी गराए । स्व. राजकुमार राईको सम्मानार्थ श्रद्धाञ्जली शोक पुस्तिका लेखन कार्यक्रम पनि गरिएको थियो ।
किरात राईहरू पितृ, प्रकृति र भूमि पूजक हुन् । आफ्नै भूमिमा पितृ पूजा र प्रकृति भूमे पूजा गर्नका लागि सन् २०१४ मा बेलायतको वकिङ रिपलेमा ७.८ हेक्टर जग्गा खरिद गरेका थिए। यसको खुसीयालीमा हरेक वर्ष केक काटेर वार्षिकोत्सव मनाउने गरेका छन् । प्रमुख अतिथि तारादेवी राई, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष कल्पना राई र अध्यक्ष मेजर योगेश कोयी राईले संयुक्त रूपमा केक काटेर १०औँ वार्षिकोत्सव मनाएका थिए ।
सो अवसरमा विभिन्न खेलकुदका प्रतियोगिता पनि गरिएको थियाे । किरात राई यायोक्खा बेलायतले सन् २०२३ मा सुरु गरेको भलिबल प्रतियोगिता यसपालि दोस्रो यलम्बरहाङ कप भलिबल प्रतियोगिताका रूपमा आयोजना गरिएको छ। अध्यक्षको पहिलो सर्भिसबाट उद्घाटन गरिएको प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ७ टिमले भाग लिएका थिए ।
निकै नै रोमाञ्चक बनेको प्रतियोगितामा पुरुषतर्फ ग्रिनविच भलिबल क्लब विजेता बन्दै १ हजार ६०० पाउन्डसहित रनिङ सिल्ड प्राप्त गरेको छ । उपविजेता बनेको बागलुङ भलिबल क्लबले १ हजार पाउन्डसहित सिल्ड जितेको छ । यसैगरी, महिलातर्फ मोना यूके (रेड) हुँदै १ हजार पाउन्ड र सालीजा भलिबल क्लब उपविजेता बन्दै ६०० पाउन्डसहित दुवैले सिल्ड प्राप्त गरे ।
पुरुषतर्फ गोर्खा एआरआरसी यूके, मोना यूके भलिबल क्लब, सालीजा यूके, स्विन्डन भलिबल क्लब ए, स्विन्डन भलिबल क्लब बी, विन्चेस्टर भलिबल क्लब, बेजिङस्टक नेपाली भलिबल क्लब, अल्डरसट भलिबल क्लब ए, अल्डरसट भलिबल क्लब बी, केन्ट भलिबल क्लब, खोटाङ भलिबल क्लब, ग्रीनविच भलिबल क्लब ए, ग्रीनविच भलिबल क्लब बी, स्याङ्जा भलिबल क्लब ए, स्याङ्जा भलिबल क्लब बी, लेकबेँसी क्विन्स गोर्खा इन्जिनियर, रिडिङ भलिबल क्लब, बागलुङ भलिबल क्लब, किरात राई यायोक्खा बेलायत भलिबल क्लब र केन्ट भलिबल क्लब यूथ सहभागी थिए ।
महिलातर्फ मोना यूके रेड, मोना यूके ब्लु, सालीजा यूके, स्विन्डन भलिबल क्लब, विन्चेस्टर भलिबल क्लब, बेजिङस्टक भलिबल क्लब र गोर्खा एआरआरसी यूकेले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै, किराँतीहरूको पहिलो राजा यलम्बरको सम्झनार्थ हरेक वर्ष हुने धनुषवाण प्रतियोगिता यो वर्ष पनि भव्य रूपमा भएको छ । जसमा १२५ जनाले प्रतिस्पर्धा गरेका थिए । यस प्रतियोगितामा पुरुषतर्फ अनिल छन्त्याल विजेता तथा मेजर भुपजित राई र वव पुन उपविजेता बने । महिलातर्फ सकुन राई विजेता तथा सिर्जना गुरुङ र सुनिता राई उपविजेता बने । जुनियरतर्फ पुर्कल पुन विजेता हुँदा राङरिमा राई र केवाङ थिङ उपविजेता भए ।
यस वर्षको भाग्यदया चिट्ठा (१ तोला सुन) मेजर रि. भुपजित राईलाई परेको थियो । सयौँको संख्यामा उपस्थित खेलाडी र हजारौँको संख्यामा उपस्थित खेलप्रेमी तथा समर्थकको उपस्थितिले यलम्बरहाङ स्मृति दिवस भव्य बनेको अध्यक्षले बताए । उनले खेलाडीले प्रदर्शन गरेको खेलप्रति आफू प्रभावित भएको भन्दै धन्यवाद दिँदै कार्यक्रम समापन गरे ।