लन्डन । गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले 'वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार १० अगस्टमा सागरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोर्ड केन्टको हलमा सीएनसीबीजीले वंशजको नेपाली नागरिकता निरन्तरता विषयमा अन्तरक्रिया कार्यक्रम भव्य र सभ्य तवरले सम्पन्न भएको सीएनसीबीजीका महासचिव भक्त रानाले जानकारी दिए । उनले 'वंशजको नागरिकता नत्यागौं, निरन्तरता अभियानमा एकजुट होऔं' भन्ने सन्देश समुदायस्तरमै पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।
संस्थाका अध्यक्ष थर्क रानाको अध्यक्षतामा भएको अन्तरक्रियाको मुख्य अतिथि सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्डका अध्यक्ष डम्मर सिंगक लिम्बू थिए । कार्यक्रममा उपस्थित अन्य अतिथिहरुमा महिला समाज आस्फोर्ड केन्टकी अध्यक्ष उमा गुरुङ, बुद्धिष्ट समाज केन्द्रकी अध्यक्ष प्रेमकुमरी गुरुङ, मन्जुश्री माने मोलम समूह आस्फोर्ड, केन्टकी अध्यक्ष तारा गुरुङ, नेपाली कलाकार प्रस्तोता समाज आस्फोर्ड, केन्टकी अध्यक्ष जानुका पुन, ओखलढुङ्गा जिल्ला समाज आस्फोर्ड, केन्टकी उपाध्यक्ष राजदेवी, मगर समाज आस्फोर्ड, केन्ट शाखाका अध्यक्ष क्या. (रि) नानी बाबु मगर, गुरुङ समाज आस्फोर्ड, केन्टका अध्यक्ष क्या. (रि) डोलबहादुर गुरुङ थिए । उनीहरु सबैले सीएनसीबीजीले चलाएको वंशजको आधारमा नेपाली नागरिकता निरन्तरता अभियानप्रति पूर्ण समर्थन र ऐक्यबद्धतासहित कार्यसफलताको शुभकामना दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
उपाध्यक्ष शोभराजले संचालन गरेको उक्त कार्यक्रममा महासचिव भक्त रानाले सीएनसीबीजीको अवधारणा प्रस्तुत गरेका थिए । कृष्ण राईले एनआरएनको विधान प्रस्तुत गर्दै त्यो गोर्खाहरुको हकमा घातक हुने कुरामा जोड दिएका थिए । साथै केन्द्रीय कार्यसमिति सदस्य दिर्ग गुरुङले अभियानलाई सशक्त र दरिलो बनाउन अन्तर्राष्ट्रिय सन्धि र कानुनहरुलाई स्पष्ट पार्दै सबैले ती सन्धि र कानुनहरु बुझ्नु पर्ने आवश्यकतालाई औंल्याएका थिए ।
कार्यक्रमको अन्तिमतिर अध्यक्ष थर्क राना साथै केन्द्रीय कार्यसमितिका अन्य सदस्यहरुले अन्तरक्रियामा उपस्थित महानुभावहरुका विभिन्न जिज्ञासाहरुको जवाफ दिएका थिए ।
अन्त्यमा अध्यक्ष थर्कले अभियानको आवश्यकता र महत्वलाई स्पष्ट पार्दै नैतिक, भौतिक अनि आर्थिक सहयोगको पूर्ण अपेक्षा गर्दै सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।