लन्डन । केशवटार आफन्त समाज यूकेको वार्षिक भेला गत शनिबार १० अगस्टमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम मध्यान्न १२ देखि राति १० बजेसम्म रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको सामुदायिक हलमा भएको थियो ।
संस्थाका उपाध्यक्ष कमल थापाले स्वास्थ्य र सुरक्षाबारे जानकारीसहित कार्यक्रम सुरु गरेका थिए । उपाध्यक्ष थापाले नै सञ्चालन गरेको कार्यक्रम अध्यक्ष रुक आले र सल्लाहकार मेजर कुल थापाले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
स्वागत मन्तव्य सल्लाहकार मेजर कुल थापाले नै राखेका थिए । त्यसपछि नेपालबाट आएका सदस्यलाई स्वागत कार्यक्रम भएको थियो । सो अवसरमा संस्थाको परिवारबाट शिक्षाको क्षेत्रमा उपलब्धि हासिल गर्ने, विश्वविद्यालयमा विभिन्न विषयमा स्नातक गर्ने, नर्स र डाक्टरलाई सम्मान गरिएको थियो ।
अध्यक्ष रुक आलेले उपस्थित सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापनको घोषणा गरेपछि सांस्कृतिक धमाका सुरु भएको थियो ।
नेपालबाट आएका चर्चित लोक तथा दोहोरी र नृत्यांगनाले प्रस्तुति दिए । समाजका सल्लाहकार यंक आले नेतृत्वको टोलीले तनहुँ जिल्लामा प्रचलित कौरा नाच पनि प्रस्तुत गरेको थियो । जसमा सबै कलाकार र केही महिला सदस्य पनि सहभागी भए । कार्यक्रममा गायक/गायिका सम्झना लामिछाने मगर, मनसुधन थापा, सबिता परियार, रेजिना परियार तथा मोडल एवं डान्सर आरुषी मगर, अष्मिता राना, लक्ष्मी गुरुङलगायतले दर्शकलाई नचाएका थिए ।
त्यसपछि अध्यक्ष आलेले सबै कलाकारलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरे । लेख राना परिवारले DJ उपलब्ध गराएका थिए । प्यालेस रेस्टुरेन्टको रिखिराम रानाको टोलीले खाना आपूर्ति गरेको थियो भने राफल ड्र पनि भएको थियो ।