लन्डन । तमु समाज यूकेको सातौँ कार्यसमितिको पहिलो बैठक विम्बलीको बार्नहम पार्कस्थित आफ्नै सामुदायिक भवनमा सम्पन्न भएको छ । समाजका अध्यक्ष बिन्दु घलेको अध्यक्षतामा १० अगस्ट शनिबारका दिन बसेको बैठकमा समाजका कार्यसमितिका सदस्य, सल्लाहकार, आमा समूहका अध्यक्षलगायत अन्य सदस्यहरूको उपस्थिति थियो ।
बैठकलाई विधिवत् रूपमा अगाडि बढाउन समाजका अध्यक्ष घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्ष अर्जुन गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङलगायत अन्य सदस्यलाई क्रमशः आसन ग्रहण गराइएको थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै उपाध्यक्ष भीमबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । महासचिव शुब घलेले हेल्थ एन्ड सेप्टीबारे जानकारी गराएका थिए । उनले अघिल्लो बैठकको टिप्पणीलाई पनि पढेर सुनाएका थिए । त्यसपश्चात् बैठक विषयवस्तुमा प्रवेश गरेको थियो । बैठकले आगामी २५ अगस्टमा तमु धीं यूकेले आयोजना गर्न लागेको नेपाली मेलामा झाँकीमा भाग लिने तर प्रतिस्पर्धामा भाग नलिने निर्णय गरेको छ । झाँकीमा गरिने प्रस्तुतीकरण सम्बन्धमा आवश्यक छलफल र निर्णय पनि गरिएको छ ।
त्यस्तैगरी, बैठकले समाज घर जीर्णोद्धार गर्नु पर्ने बेला भएकाले विकल्पमा अर्को भवन खोज्ने निर्णय पनि गरेको छ । त्यसका लागि निकट भविष्य मै एउटा समिति गठन गरेर काम अगाडि बढाउने निर्णय गरेको छ । आगामी ३१ अगस्टका दिन हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज मनाउने र यसलाई कसरी मनाउने भन्ने विषयमा पनि गहन छलफल भएको छ ।
सो अवसरमा तमु समाज आमा समुह र युथ ग्रुप गठन गरिएको छ । जसलाई अध्यक्ष बिन्दु घले र निवर्तमान अध्यक्ष उमादेवी गुरुङको हातबाट सम्मानित पनि गरेको छ । विमला गुरुङको अध्यक्षतामा ९ सदस्यीय आमा समूह कमिटी गठन गरेको छ । युथ ग्रुपमा प्रज्वल गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटी पनि गठन गरेको छ ।
कार्यक्रम सञ्चालन कै क्रममा पुरानो कमिटी अर्थात् छैटौँ कार्यसमितिबाट कार्यभार र अन्य चल-अचल सम्पत्तिका कागजात निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको रोहबरमा नवनिर्वाचित अध्यक्ष बिन्दु घलेलाई हस्तान्तरण गरे । नयाँ कार्यसमितिका अध्यक्ष र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले पुरानो समितिका सबै पदाधिकारी र सल्लाहकारलाई खादा फूल र पछ्यौरा साथै मायाको चिनो प्रदान गरेर बिदाइ गरेका थिए । नयाँ सातौँ कार्यसमितिका पदाधिकारी तथा सल्लाहकारलाई वर्तमान अध्यक्ष घलेले खादा लगाएर स्वागत तथा सम्मान गरेकी थिइन् ।
अन्त्यमा उपस्थित सदस्यलाई अमूल्य समय प्रदान गरी उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गरेकामा धन्यवादसहित महासचिव सुब घलेले सञ्चालन गरेको औपचारिक कार्यक्रम समापन भएको घोषणा गरे ।
मनोरञ्जनको कार्यक्रम अगाडि बढाउनु पूर्व समाजका आजीवन सदस्य जगदीश गुरुङ सोपाल समाजको अध्यक्ष जस्तो गरिमामय पदमा चयन भएकामा बधाई तथा शुभकामना ज्ञापन गरियो । यस्तै, हाल भ्रमणका क्रममा बेलायतमा रहेका विद्वानद्वय इन्द्र गुरुङ र उनकी धर्मपत्नी राजेश्वरी गुरुङ (श्रेष्ठ) पुत्र रोनाल्ड गुरुङ र राष्ट्रिय कलाकारद्वय राजन गुरुङ र रेणुका भट्टराईलाई अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले खादा, फूल र प्रमाण पत्र प्रदान गरेर सम्मान र स्वागत गरे ।
अतिथि विद्वान इन्द्रबहादुर गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले धन्यवादका साथ छोटो मन्तव्य राखे । तत्पश्चात् लोक कलाकारद्वय राजन गुरुङ र रेणुका भट्टराईले प्रस्तुति दिएका थिए । उनीहरूको लोकप्रिय गीतको मनोरञ्जन लिँदै/नाच्दै गाउँदै कार्यक्रम समापन भएको थियो ।