आस्फोर्ड । सगरमाथा गोर्खा नेपाली समाज, आस्फोर्ड, केन्ट (सगोनेक) ले आस्फोर्ड निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद सोजान जोसेफ र उनकी धर्मपत्नि ब्राईटा जोसेफलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
गत शनिबार १० अगस्टमा समाजको कार्यालय भवनमा अध्यक्ष डम्मर सिंगक लिम्बूको सभापतित्वमा सोजान जोसेफको स्वागत, बधाई र चियापन कार्यक्रम आयोजना गरिएको हो । हालै भएको निर्वाचनमा उनी यस क्षेत्रबाट बहुमतसहित निर्वाचित भएका थिए ।
उनीहरूलाई संस्थाका अध्यक्ष सिंगक साथै स्थानीय संघसंस्थाका प्रतिनिधिसहित अन्य सहभागीले खादा र माला लगाएर स्वागत तथा बधाई दिएका थिए ।
कार्यक्रममा बोल्दै सांसद जोसेफले अन्यायका विरुद्ध आफूले सधैँ आवाज उठाइरहने बताए। ‘तपाईंहरुको साथ, सहयोगले आज म अगाडि उभिन पाएको छु । आउँदो चार वर्ष मैले सकेको मद्दत गर्नेछु,’ उनले भने, ‘चुनावको दौडानमा पनि भनेको थिएँ । म प्ररतिज्ञा गर्न त सक्दिनँ तर तपाईंहरूको न्यायका लागि सधैँ आवाज उठाउनेछु ।’
आस्फोर्ड निर्वाचन क्षेत्र आप्रवासीको संख्या हेर्दा यूकेकै एक ठूलो जनसंख्या भएको शहर रहेको उनको भनाइ थियो । ‘यसबारे गृह मन्त्रालयसँग कुरा उठाएको छु,’ उनले भने, ‘केही दिनयता आप्रवासी विरोधी आन्दोलन भयो । म माया र सम्मानमा विश्वास राख्छु । कसैले जातिवादको नराम्रो कुरा गरेमा मलाई सिधै सम्पर्क गर्नुहोला । म त्यसको कडा निगरानी राख्नेछु ।’
सांसद जोसेफले वेस्टमिनिस्टर हलमा गोर्खा पेन्सनको डिबेट राख्नेसमेत बताए । गोर्खाहरू भएको निर्वाचन क्षेत्रका एमपीहरूलाई पनि सम्पर्क गर्ने उनको भनाइ थियो । अध्यक्ष सिंगकले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम नितान्त रूपमा बधाईका लागि मात्रै राखिएको प्रस्ट पारे ।
उनले सगरमाथा गोर्खा नेपाली समाजको स्वास्थ्य, सुरक्षा, विकाश, हक अधिकारका लागि, स्थानीय सरकार, बेलायत सरकार र नेपाल सरकारबीच चलिरहेको वार्ताबारे सबै गोर्खा संस्थासँग मिलेर आवाज राख्ने कार्यक्रम तय भइरहेको जानकारी दिए ।
सांसद जोसेफले झन्डै दुई घण्टा सगरमाथा गोर्खा नेपाली समाजको कार्यालयमा कुराकानी साथै गोर्खा भिल्ला रेस्टुरेन्टमा चियापान रेका थिए । संस्थाका सचिव विमला लिम्बूले सञ्चालन गरेको कार्यक्रममा स्थानीय संघसंस्था तथा सदस्यसहित ६० जनाको सहभागिता थियो ।