फोनबोरो । ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस) ले हालै अल्डरसट निर्वाचन क्षेत्रबाट बहुमत ल्याएर विजय सांसद अलेक्स बेकरलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
यही शुक्रबार ९ अगस्ट २०२४ मा बिजिडब्लूएसको आफ्नै घर गोर्खा भवनमा अध्यक्ष मेरि केन्द्र दल देवान जेपीको सभापतित्वमा सांसद बेकरको स्वागत, बधाई र चियापन कार्यक्रम आयोजना गरिएको हो । नवनिर्वाचित सांसद बेकरलाई संस्थाको तर्फबाट अध्यक्ष देवानले फूलको गुच्छा, कोषाध्यक्ष टेकबहादुर थापा र ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका वरिष्ठ उपाध्यक्ष उत्तरबहादुर गुरुङले सेतो खादा लगाएर स्वागत तथा बधाई दिएका थिए ।
'तपाईंहरुको साथ, सहयोगले आज म अगाडि उभिन पाएको छु । आउँदो चार वर्ष मैले सकेको मद्दत गर्नेछु,' बधाई ग्रहणपछि सांसद बेकरले खुशी व्यक्त गर्दै भनिन्, 'चुनावकौ दौडानमा पनि भनेको थिएँ । म प्रमिज गर्न त सक्दिनँ तर तपाईंहरुको अन्यायको लागि सधैं आवाज उठाउनेछु ।'
'अल्डरसट निर्वाचन क्षेत्र आप्रवासीहरुको संख्या हेर्दा युकेकै टपटेनभित्र परेको छ । २०० बेड पोर्टस होटल र ३४५ बेड हिल साईड अपार्मेन्टमा आप्रवासीहरु बसेका छन् । यसकोबारे गृह मन्त्रालयसँग कुरा उठाएको छु,' उनले भनिन्, 'केही दिनयता आप्रवासी विरोधी आन्दोलन भयो । म माया र सम्मानमा विश्वास राख्दछु । कसैले जातिवादको नराम्रो कुरा गरेमा मलाई सिधै सम्पर्क गर्नुहोला । म त्यसको कडा निगरानी राख्नेछु ।'
सांसद बेकरले थपिन्, 'वेष्टमिनिष्टर हलमा गोर्खा पेन्सनको डिबेट राख्नेछु । गोर्खाहरु भएको निर्वाचन क्षेत्रका एमपीहरुलाई सम्पर्क गर्दैछु ।'
अध्यक्ष देवानले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम नितान्तरुपमा बधाईका लागि राखिएको प्रस्ट पारे । उनले गोर्खा, बेलायत सरकार र नेपाल सरकारबीच चलिरहेको वार्ताका बारे सबै गोर्खा संस्थाहरु मिलेर आवाज राख्ने कार्यक्रम तय बन्दै गरेको जानकारी दिएका छन् । सांसद बेकरले झन्डै एक घन्टा गोर्खाहरुसँग गोर्खा भवनमा कुराकानी र चियापान गरिन् ।
बिजिडब्लूएसका पीआर प्रकाश गुरुङले संचालन गरेको कार्यक्रममा स्थानीय सदस्यहरु करिब १५ जनाको सहभागिता रहेको थियो ।