काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रोब फेन र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलबीच शिष्टाचार भेट भएको छ ।
मंगलबार भएको दुई पक्षीय भेटमा राजदूत फेनले नेपाल सधैंका लागि राम्रो ठाउँ रहेको बताएका छन् । भेटमा राजदूत फेनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा राम्रो छवि भएको समेत बताए । ‘नेपाल सधैंका लागि राम्रो ठाउँ हो,’ उनले भने, ‘काठमाडौंको संस्कृति र प्रकृति रचनात्मक सहरको प्रवर्द्धनका लागि राम्रो विषयवस्तु हुन् । यसमा हामी सँगै काम गर्न चाहन्छौं ।’
चलचित्र विधाबाट युवाहरुलाई प्राविधिक र सिर्जनात्मक क्षेत्रमा जोड्न सकिने र युवालाई स्वयंसेवकका रुपमा कार्यक्रममा सहभागी गराएर विकासका अन्तरपक्षमा अभ्यस्त गराउने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने उनले बताए ।
महानगरकी उपप्रमुख डंगोलले महानगरले वुमन्स अफ द वर्ल्ड (वाउ) फेस्टिभल आयोजना गर्ने तयारी गरिरहेको जानकारी गराउँदै इन्द्रजात्रा अवलोकनका राजदूत फेनलाई निमन्त्रणा गरेको महानगरले जनाएको छ । ‘रचनात्मक सहर सञ्जालमा काठमाडौंको विधा चलचित्र हो । यस विधाबाट सिर्जनामा काम गर्ने युवालाई सरकारका कार्यक्रमसँग सिधै जोड्न सकिन्छ,’ उपप्रमुख डंगोलले भनिन् । उपप्रमुख डंगोलले महानगरले गरिरहेको कामबारे जानकारी गराएकी थिइन् । उनले भेटमा बेलायतमा आयोजना भएको वुमन्स अफ वर्ल्ड फेस्टिभल कार्यक्रमले आपसी सम्बन्ध बलियो भएको समेत उल्लेख गरिन् ।
भेटका क्रममा चलचित्र कार्यशाला, चलचित्र प्रदर्शनी, चलचित्र महोत्सव, चलचित्र शिखर सम्मेलन, चलचित्र शिक्षण, अनुशिक्षण र प्रशिक्षणलगायतका क्रियाकलापलाई आपसी आयोजनामा सञ्चालन गर्ने सकिने सम्भावित कार्यक्रमका रुपमा छलफल गरिएको महानगरले जनाएको छ ।