लन्डन । गुल्मी जिल्ला समाज यूकेको आयोजनामा १६औँ वार्षिक भेला धूमधामका साथ सम्पन्न भएको छ ।
आइतबार लन्डनको फेल्थामस्थित ट्युडोर पार्क लिजर सेन्टरमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भेला भव्य रूपमा भएको हो ।
समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनाल रहेकी थिइन् । यसैगरी, विशेष अतिथिमा लन्डन ग्रीनवीचका मेयर जीत रानाभाट, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पान्डे र कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापा, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्वसांसद डा. सूर्य पाठक, कार्यक्रमको टाइटल स्पोन्सर सुरेश केसी रहेका थिए । उनीहरूले मन्तव्य राख्दै कार्यक्रम तथा संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवं संस्थाका उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् । अध्यक्ष रुद्र थापाले कार्यक्रम सफल पार्न योगदान गर्ने सहयोगी तथा सहभागीहरूलाई धन्यवाद दिँदै औपचारिक समारोह समापन गरेका थिए ।
सो अवसरमा कार्यकाल पूरा गरेर फर्किन लागेकी कार्यवाहक राजदूत खनाललाई दोसल्ला ओढाएर सम्मानसहित बिदाइसमेत गरिएको थियो । अन्य सहयोगीहरूलाई पनि संस्थाले प्रमाणपत्र र मायाको चिनो प्रदान गरेको थियो । राफल ड्रको संयोजन माया केसी र अर्जुन बस्नेतले गरेका थिए ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा चर्चित कलाकारका विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए । चर्चित कलाकारहरू दीपक घर्ती मगर, सुशीला गौतम, रेनुका भट्टराई, दिलु सलामीलगायतले सांगीतिक प्रस्तुति गरेका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन समाजकी सांस्कृतिक सचिव माया केसीले गरेकी थिइन् ।
विभिन्न कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । नौमती बाजाको प्रस्तुतिले रौनक थपेको थियो । कार्यक्रमको टिकट शुल्क वयस्कका लागि २५ पाउन्ड तथा ६ देखि १२ वर्षमुनिका बालबालिकाका लागि १२ पाउन्ड तोकिएको थियो ।