लन्डन । नेपालको बागलुङ जिल्लास्थित बिहुकोटबाट आएर बेलायतका विभिन्न शहरमा बसोबास गर्ने बिहुकोटेहरुको १०औँ वार्षिक भेला तथा पाँचौँ महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।
सोमबार बेलायतको ग्रान्थम शहरमा भएको कार्यक्रममा बेलायतका सबै क्षेत्रमा बसोबास गर्ने बिहुकोटेको उल्लेख्य उपस्थिति थियो । भेलाले शिव कँडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन समितिका सचिव प्रेम कँडेलका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा लीलाराम निउरे, उपाध्यक्षमा केशव कँडेल, रामप्रसाद कँडेल, महासचिवमा राजु कँडेल, सचिवमा मुक्ति कँडेल, कोषाध्यक्षमा यामलाल कँडेल निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरूमा गंगाधर कँडेल, धनकुमारी निउरे, सागर कँडेल, राजेन्द्र कँडेल, सुशील कँडेल र सिता कँडेल रहेका छन् । समितिका सबैजना निर्विरोध निर्वाचित भएका हुन् ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अमर उच्च माविका निवर्तमान प्रधानाध्यापक हरिप्रसाद कँडेलले बेलायतमा बसोबास गर्ने बिहुकोटेहरूको योगदानको प्रशंसा गर्दै सधैँ एकजुट भएर समाजसेवामा लाग्न आग्रह गरे । नेटवर्कका संस्थापक अध्यक्ष, सल्लाहकार तथा निर्वाचन समिति संयोजक समाजसेवी दयानिधि सापकोटाले नवनिर्वाचित कार्यसमितिले विश्वव्यापी रूपमा रहेका बिहुकोटेहरू एकजुट बनाएर जानेमा जोड दिए ।
कार्यक्रममा बिहुकोट समाज जापानका पूर्वअध्यक्ष अशोक शर्मा गोपाल, ग्रान्थम नेपाली समाजका कमल भण्डारी, शान्ति नेपाली समाजका प्रवक्ता डीएन खरेल, पूर्वसल्लाहकार फूलप्रसाद कँडेलले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा समुदायलाई विषेश योगदान पुर्याउने संस्थापक अध्यक्ष दयानिधि सापकोटा, पूर्वअध्यक्ष प्रेम कँडेल, प्रमुख अतिथि प्रअ हरिप्रसाद कँडेल, एकाउन्टेट प्रकाश भट्टराई, बिहुकोट समाज जापानका पूर्वअध्यक्ष्य अशोक शर्मा गोपाललाई सम्मान गरिएको थियो ।
नेटवर्कका अध्यक्ष गंगाप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिव कँडेलको स्वागत मन्तव्य, महासचिव कुलपति न्यौपानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रमेश कँडेलले आर्थिक प्रतिवेदन पेस गरेका थिए । ती सबै प्रतिवेदन सभाले सर्वसहमतले पारित भएको थियो ।
बिहुकोट हेल्प नेटवर्क यूकेमा च्यारिटी रजिस्टर संस्था हो । शान्ति नेपाली समाजको पञ्चेबाजा र कलाकार सुशीला गौतमले प्रस्तुति दिएको कार्यक्रम संयोजक छविलाल कँडेलले जानकारी दिए ।