लन्डन । नेपालबाट बेलायत भ्रमणमा आएका एनएलपी मास्टर, फायर वाक ट्रेनर, आकश हिलिङका मास्टर ट्रेनर इन्द्रबहादुर गुरुङ, एनएलपी मास्टर ट्रेनर, क्लिनिकल साईकोलोजिस्ट राजी श्रेष्ठ गुरुङ र आकश हिलर रोनाल्ड गुरुङको साथमा २५ जनाको समूहले गत ३ अगस्टका दिन बेलायतस्थित आध्यात्मिक ठाउँहरुमध्ये एक प्रसिद्ध ग्लायस्टनबुरी टोरमा एक दिनको आध्यात्मिक सत्सङ गरेका छन् ।

समाजसेवी सुष्मा गुरुङ र आकश हिलर प्रकाश गुरुङको संयोजकमा उक्त सत्सङ भएको हो । सहभागीहरुमा स्कुल, कलेज र युनी पढ्दै गरेका, भर्खरै ब्याचलर डिग्रीसकेकादेखि लिएर विभिन्न उमेरका साधकहरु थिए । एक जना पेन्सनर आमा पनि सहभागी थिइन् । यस्तै मणिराज गुरुङ र परिवार चार घण्टाको बाटो ड्राइभ गरेर सहभागी भएको थियो ।

बिहान दस बजे टोर नजिकैको कार पार्कमा सबै जना जम्मा भए । मास्टर ट्रेनर इन्द्र र राजीले सत्सङको इरादा र लक्ष्यबारे ब्रिफिङ गरे । मानव शरीरमा रहेको र पृथ्वीमा रहेको ७ चक्र र उर्जाबारे ज्ञान दिए । पाँच तत्वहरु पृथ्वी, वायु, जल, आगो र आकाशसँग कनेक्ट गर्दै टोर भएतिर समूह उकालो लागे । टोर पुग्नु केही दूरी तल समथर जमिनमा चक्र साउन्ड मेडिटेसन गरियो । सबै जना खाली खुट्टा जमिनसँग कनेक्ट हुँदै उकालो हिँडे । त्यो समय चुपचाप भएर हिँड्न निर्देशन दिइएको थियो । टोर नजिकै पुगेपछि एक घन्टाको खाना ब्रेक भयो ।

शाकाहरी खानापछि कस्मिक मेडिटेसन गरियो । सहभागी सबैलाई व्यक्तिगत उर्जाका लागि भोयलेट फ्लेमको दीक्षा दिइयो । उक्त समूहका धेरै जना आउने सेप्टेम्बर महिनामा कैलाश पर्वत यात्रा जाने भएकाले क्राउन चक्र र हर्ट चक्रको महत्वबारे सिकाइएको थियो ।
सहभागी सबै खुशीका साथ टोरबाट अर्को आध्यात्मिक ठाउँ स्टोनहेन्जतिर लागे । मास्टर इन्द्रले चाखलाग्दो विषय बताए । "तपाईंहरु लक्की हुनुहुन्छ। भर्खरै हर्ट चक्रमा गएर ध्यान गर्नुभयो । कैलाश क्राउन चक्रमा जाँदै हुनुहुन्छ । हामी स्टोनहेन्जमा आएका छौं । पृथ्वीको थर्डआई चक्र घुमिरहन्छ । अहिले यही स्टोनहेन्ज क्षेत्रमा छ भन्ने विश्वास छ ।" मास्टर इन्द्रबाट उक्त कुरा सुन्दा सबै उत्साहित भए । इन्द्रले सबैलाई थर्डआइ मेडिटेसन गराए ।

झन्डै बेलुकाको सात बजे मेडिटेसन सकिएर घर फर्कने तत्खर हुँदै थियो। आयोजक सुष्माले बेलुकाको डिनर कतै नेपाली रेस्टुरेन्टमा खाने कि भन्ने प्रस्ताव राखिन् । सबै सहमत । अल्डरसट पानस रेस्टुरेन्टमा आएर साकाहारी खाना खाँदै शुभ दिनको विश्लेषण भयो । मास्टर इन्द्र र राजी दुवैले धेरै खुशी व्यक्त गर्दै भने, 'योङहरुको सहभागी र चासो, अनुशासित समूह, ज्ञान ध्यानको बारे केही पूर्वसूचना भएको, निकैलाई ध्यान लागेको र दोस्रो पटक टोर जस्तो इनर्जी सेन्टरमा सत्सङ गर्न पाएकोमा हामी हर्षित छौं ।' सहभागी सबैलाई समूहका नाइके सुष्माले धन्यवाद दिइन् ।




