लन्डन । घान्द्रुक समाज यूकेले ३ अगस्ट २०२४ शनिबारका दिन फार्नबोरोस्थित साम्युल कोडी स्कूलको हलमा आफ्नो १६औँ वार्षिक समर भेटघाट कार्यक्रम धूमधामका साथ मनाएको छ ।
तीन चरणमा भएको कार्यक्रमको पहिलो चरणको औपचारिक समारोह समाजका अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भयो । सुरुमा आमन्त्रित विभिन्न संघ संस्थाबाट उपस्थित अतिथिलाई आसन ग्रहण गराइएपश्चात् नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएको थियो । त्यसपछि यस वर्ष दिवंगत भएका गाउँलेको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । घान्द्रुकको आस्थाको केन्द्र शक्तिपीठ मेश्रम बराहलाई पुजारी पच्यू त्रेय देवबहादुर गुरुङ आफैँ, कृष्ण गुरुङ र बुद्धि ल्हो गुरुङले पूजा पाठ गराए । सबैले प्रसाद ग्रहण गरेपछि कार्यक्रम सुरु भएको थियो ।
आमन्त्रित अतिथिमा तमुहरूको छाता संगठन तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ दम्पती, तमु प्ये ल्हु संघ यूकेका महासचिव वेगलाल गुरुङ दम्पती, तमु समाज यूकेका अध्यक्ष बिन्दु घले दम्पती, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र शितलपाटीका प्रबन्ध निर्देशक वाचस्पति रेग्मीलगायत थिए । उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राख्नको साथै हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराएका थिए । यो वर्ष तमु प्ये ल्हु संघ यूके र तमु समाज यूकेको नवनिर्वाचित पदाधिकारी वेगलाल गुरुङ दम्पती र तमु समाज यूकेका नवनिर्वाचित अध्यक्ष बिन्दु घले दम्पतीलाई खादा, भाङ्ग्रा तथा पछ्यौराले बधाई दिनको साथै स्वागत तथा सम्मान गरिएको थियो । बाँकी अतिथिहरूलाई खादाले सम्मान गरिएको थियो।
पहिलो औपचारिक कार्यक्रमका दौरान यस वर्ष विभिन्न विधामा विभिन्न विश्व विद्यालयबाट ब्याचलर, मास्टर्स डिग्री र विशेष डिग्री हासिल गरेका ७ जना समाजका सदस्यका नानी बाबुलाई पनि सम्मान गरिएको थियो । जसमा हितकाजी गुरुङका सुपुत्री सामिन गुरुङ, कुलबहादुर गुरुङका सुपुत्री ममता गुरुङ, याम गुरुङका सुपुत्र रिचल गुरुङ, राजबहादुर गुरुङका सुपुत्र जेनी गुरुङ, सत्रमान सुपुत्री डा. शारदा गुरुङ, आशापूर्ण गुरुङका सुपुत्र सोहन गुरुङ, रोशन गुरुङको सुपुत्र सचिन गुरुङ आदि थिए। त्यस्तै गरी यो वर्ष समाजका सदस्यको ६ जोडा छोराछोरी विवाह बन्धनमा बाँधिएको खुसीयालीमा उपहारसहित आमा समूहले सम्मान गरे ।
त्यसपश्चात् दोस्रो चरणको कार्यक्रम सुरु भयो । जसमा हरेक वर्ष सञ्चालन गर्ने गरेको २० वर्ष मुनिको बालबालिकालाई लक्षित गरी लोकप्रिय कार्यक्रम गुरुङ भाषा प्रतियोगिता सञ्चालन गरेका थिए । जसलाई अमरप्रसाद गुरुङ र नारायण सिंह गुरुङले सञ्चालन गरेका थिए । यस वर्षको प्रतियोगिता दीप्ति गुरुङ प्रथम भई रनिङ शिल्ड र नगद पुरस्कार हात पार्न सफल भइन्। सुयोग दर्शन गुरुङ दोस्रो, प्रिसा दर्शनी गुरुङ तेस्रो र सिजोय गुरुङ चौथो हुन सफल भए। सधैँको परम्परालाई कायम गर्दै गत सालको विजेता अन्जनी दर्शनी गुरुङले आकर्षक तरिकाले गुरुङ भाषामा मन्तव्य व्यक्त गरेसँगै दोस्रो चरणको कार्यक्रम पनि समापन भयो ।
तेस्रो चरणको कार्यक्रममा घान्द्रुकेको आफ्नै गाउँका कलाकारबाट आकर्षक नृत्य प्रस्तुत गरेका थिए । नेपालबाट आएका राष्ट्रिय कलाकारद्वय मनमाया वाइवा र राजन गुरुङले सुमधुर आवाजमा बेजोड प्रस्तुति दिएका थिए । अन्त्यमा आधा तोला सुन प्रथम पुरस्कार र अन्य विभिन्न आकर्षक नगद पुरस्कार रहेको राफल ड्र को कार्यक्रमको मज्जा लिँदै यो रमाइलो वार्षिक भेटघाट कार्यक्रम समापन भएको थियो । यस वर्षको अधा तोला सुन आकर्षक पुरस्कार लिना गुरुङले हात पार्न सफल भइन् ।
औपचारिक कार्यक्रम उपाध्यक्ष राजकुमार गुरुङले सञ्चालन गरेका थिए । तमु भाषाको संयोजन अमरप्रसाद गुरुङ र नारायण सिंह गुरुङ, राफल ड्र को संयोजन पुनम गुरुङ र आरती गुरुङ तथा सांस्कृतिक कार्यक्रम संयोजन राम गुरुङ, जुमप्रसाद गुरुङले गरेका थिए ।