लन्डन । चितवन एड ट्रस्ट यूके (क्याट यूके) ले गरिब तथा जेहनदार विद्यार्थी सहयोगार्थ कोष अभिवृद्धिका लागि च्यारिटी कार्यक्रम आयोजना गरेको छ ।
गत २८ जुलाईमा ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा आयोजित च्यारिटीबाट १६ हजार पाउन्डभन्दा बढी संकलन भएको अध्यक्ष कृष्ण तिवारीले जानकारी दिए । सो अवसरमा फायर वाक (आगोमा हिँड्ने) तथा सांस्कृतिक कार्यक्रमसमेत भएको थियो । फायर वाकमा १२० जनाको सहभागिता थियो । फायर वाकरलाई मास्टर इन्स्ट्रक्टर कृष्ण गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए ।
अध्यक्ष तिवारीका अनुसार संकलित रकमबाट खर्च कटाएर बाँकी रकम नेपाल पठाइने छ । प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालले क्याट यूकेको सामाजिक कार्य प्रशंसनीय रहेको बताइन् । कार्यक्रम संयोजक कृष्ण गुरुङले फायर वाक यूके कम्पनीको सहकार्यमा भएको र यो सशक्तीकरण, सकारात्मक सोच, आत्मविश्वास र दिमागको शक्ति वृद्धि गर्ने सवालमा महत्त्वपूर्ण रहेको जानकारी दिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ र संस्थापक महासचिव लोक गुरुङ एवं काउन्सिलर धनबहादुर सार्की र इनास यूके अध्यक्ष सञ्जय कंडेललाई विशेष सम्मान गरिएको थियो । क्याट यूकेले नेपालमा हालसम्म ६३ लाखको कोष जम्मा गरिसकेको छ । यसलाई १ करोडको बनाउने लक्ष्य रहेको अध्यक्ष तिवारीले बताए ।
नेपालबाट आएका चर्चित गायक मिलन लामा, राजन गुरुङ, तिलक गुरुङ, सुशीला गौतम र वसन्त लम्सालले सांगीतिक प्रस्तुति दिएका थिए । यस्तै, अस्मिता राना मगर, हेबिना सेढाईं, स्मारिका न्यौपाने, बिनु लामिछाने, रेश्मा मैनाली, सुरक्षा पंगेनी, मन्जु शाहलगायत कलाकारले आकर्षक नृत्य प्रस्तुत गरे ।
अध्यक्ष तिवारीले आर्थिक तथा भौतिक सहयोग गरेर कार्यक्रम सफल बनाउन योगदान दिने दाता र अतिथिप्रति आभार व्यक्त गरे ।