लन्डन । बेलायतमा आगामी १८ अगस्ट २०२४ मा धर्मदेशना कार्यक्रम र अन्तक्रिया हुने भएको छ । बुद्धिस्ट गुम्बा रेडिङ यूकेका गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा (थुप्तेन येशे) ले भर्दो थ्योडोल छेन्मो अन्तर्गत प्रस्ट्याउन खोजेका हुन् ।
कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । मूल गुरु शिर लामाले भने, 'भर्दो थ्योडोल छेन्मोको धर्म देशनालाई बृहत् सरल र सबैले बुझ्ने तरिकाले स्पस्ट पार्ने तयारी मैले गरेको छु । धर्मदेशना एक/डेढ घण्टाको हुने र त्यसको बीचमा विश्राम पनि हुनेछ ।' उक्त दिन ग्रहशान्तिका लागि च्योयो पूजा पनि हुने छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मा सबै कार्यक्रम हुने मूल गुरु शिर लामाले जानकारी दिए । ११ देखि लगभग २ बजेसम्मको अवधिमा धर्मदेशना गरिने छ भने त्यसबीचमा केही अन्तर्क्रिया गरिने योजना रहेको छ ।
यसअघिका धर्मदेशना अन्तरक्रियामा मृत्यु संस्कारबारेमा धेरै मानिसहरुको चिन्ता, चासो र जिज्ञासा उठेको आफूले महसुस गरेको भन्दै मूल गुरु शिर लामाले मृत्यु संस्कारलाई सजिलो, सहज बनाउन हामीले ज्ञान र शिक्षा लिन आवश्यक देखिएकोले १८ तारिखमा धर्म देशना (अन्तराभव श्रवण महाविमुक्ति) कार्यक्रम राखिएको प्रस्ट पारे । बेलायतमा विद्युतीय माध्यमबाट शव जलाउने गरिन्छ । त्यसक्रममा गरिने विधि, चाहिने सामग्री, कस्तो ठाउँ उपयुक्त हुन्छ, घरमै वा गुम्मा पार्थिव शरीर राखेर गर्दा कस्तो हुन्छ लगायत विषयमा जानकारी गराइने मूल गुरु शिर लामाले बताए ।
यस्तै सेप्टेम्बरको २ तारिखबाट ८ तारिखसम्म बुद्धिस्ट गुम्बा रेडिङ यूके प्रज्ञापारामिता ग्रन्थ १६ रहेको र त्यसलाई ७/८ जना लामागुरुबाट वाचन गर्ने उद्देश्य अनुरुप पूजा राखिएको जानकारी गराएका छन् । प्रज्ञापारामिता वाचन अनुष्ठानका लागि एकै दिन सकाउन करिब ६० जना गुरु आवश्यक हुने भए पनि बेलायतमा गुरु अभाव रहेकोले दैनिक ६/७ जनाको दरले ७ दिन वाचन गर्न लागिएको उनको भनाइ छ । विश्वशान्तिका लागि गरिने वाचन कार्यक्रममा दिइएको दान उपस्थित भक्तजनहरुलाई प्रसाद, भोजन गराउने र बचेको रकमले गुम्बाको संरचना निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।
पूजामा उपस्थित भएर धर्म शिक्षाका साथै पुण्यलाभ लिनका लागि यूकेवासी बौद्ध अनुयायीहरूमा गुम्बाले निमन्त्रणासमेत गरेको छ ।
पत्रकार सम्मेलनमा बुद्धिस्ट गुम्बा रेडिङ यूकेका अध्यक्ष ई खेमबहादुर गुरुङलगायत पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।