लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आगामी २२ सेप्टेम्बरमा ब्रिटिस गोर्खाको विभेदसम्बन्धी विभिन्न समूहबीच अन्तरक्रिया गर्ने भएको छ ।
गत बिहीबार नवनिर्वाचित अध्यक्ष विमला सेनेको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले शाखाको छैटौँ कार्यकालको पहिलो कार्यक्रमका रूपमा अन्तरक्रिया गर्ने निर्णय गरेको हो । बैठकले यस कार्यक्रमको संयोजन गर्ने जिम्मा उपाध्यक्षद्धय प्रमीला लाबुङ राई र शिव भण्डारीलाई दिएको छ ।
शाखाको सल्लाहकार समितिमा संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्वअध्यक्ष नरेश खपांगीमगर र निवर्तमान अध्यक्ष ध्रुवराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, शाखाको छैटौँ कार्यकालका लागि केन्द्रीय प्रतिनिधिमा डा. शिव तिवारी र दुत पुनलाई सिफारिस गरिएको छ ।
निवर्तमान कार्य समितिले औपचारिक रूपमा कार्यभार हस्तान्तरण र बरबुझारथ कार्य पनि सम्पन्न भएको छ । शाखाको बैंक खाता अध्यक्ष, महासचिव र कोषाध्यक्षमध्ये कम्तीमा दुई जनाको हस्ताक्षरबाट चलाउने व्यवस्था अनुसार बैंकसँग समन्वय गर्ने जिम्मेवारी कोषाध्यक्षलाई दिएको छ ।
महासचिव खेमराज रानाभाटले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष प्रमीला लावुङ राई, उपाध्यक्ष शिव भण्डारी, सचिव मञ्जु भण्डारी खरेल, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इंग्नाम, कार्यसमिति सदस्यहरू गोमा राना, मिलन तमु, बाचस्पति रेग्मी, बम थापा सूर्यवंशी र नगेन्द्र नेम्बाङको सहभागिता थियो ।
यस्तै, बैठकले गत १४ जुलाईमा सम्पन्न शाखाको छैटौँ अधिवेशन सफल रहेको निष्कर्षसमेत निकालेको छ । अधिवेशन सफल बनाउन सहयोग पुर्याउने नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि लेखा समिति संयोजक लेखनाथ न्यौपाने, फोनिजका केन्द्रीय अध्यक्ष गजुर्धन राई, प्रेस युनियन नेपालकी उपमहासचिव दिलिपा अधिकारी, पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, प्रेस चौतारी नेपालको प्रतिनिधि देविका घर्तिप्रति धन्यवाद व्यक्त गरेको छ।
निर्वाचन समितिका संयोजक एवं बेलायत शाखाका पूर्वअध्यक्ष नरेश खपांगीमगर एवं सदस्यहरू पूर्ण गुरुङ र प्रणय शुक्ल, शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, कानूनी सल्लाहकार सोलिसिटर उत्तरमान तिगेला एवं निवर्तमान कार्यसमितिका अध्यक्ष ध्रुवराज अर्याल एवं सम्पूर्ण पदाधिकारी र सदस्य, अधिवेशनमा सहभागी साधारण सदस्यहरू एवं सहयोगीहरूप्रति पनि बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
छैटौँ अधिवेशन सम्पन्नपश्चात केही असन्तुष्ट सदस्यहरूले शाखाको नाम, लोगो र फेसबुक पेजको अनधिकृत रूपमा प्रयोग गरी अनर्गल प्रचारमा संलग्न भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बैठकले जनाएको छ । यस्ता अवैधानिक र अनधिकृत कार्यमा संलग्न नहुन सम्बन्धित पक्षलाई आग्रह गर्दै आगामी दिनमा यस्ता कार्यमा संलग्न भएको भेटिएमा कारबाही गर्न बाध्य हुने र असन्तुष्टि भए विधिसम्मत रूपमा राख्न पनि आग्रह गरेको छ ।
शाखाको फेसबुक पेज, इमेल, वेभसाइटको डोमिनलाई सुरक्षित र समय अनुकूल अपडेट गराई राख्ने पनि बैठकले निर्णय गरेको छ । तमु धीं यूकेले हरेक वर्ष आयोजना गर्दै आएको नेपाली मेलामा शाखाको सहभागिताको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत र कार्यसमिति सदस्य बम थापा सुर्यबंशी मगरलाई दिने निर्णय गरेको छ ।