लन्डन । 'माझी दाइ पोखरा फेवातालको' लगायत गीतका चर्चित गायक मिलन लामा बेलायत आइपुगेका छन् ।
चितवन एड ट्रस्ट (क्याट) युकेले यही आइतबार २८ जुलाई २०२४ मा आयोजना हुने फायर वक तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन गायक लामा शुक्रबार राति लन्डनस्थित हिथ्रो एयरपोर्ट उत्रिएका हुन् ।
कार्यक्रम ह्यारोस्थित ब्ल्यू रुम स्पोर्ट्समा हुने छ । कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको संस्थाका ट्रस्टी तथा कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिएका छन् ।
गायक मिलनले पनि आफू लामो समयको अन्तरालपछि युके आउन पाएकोमा खुसी व्यक्त गर्दै आयोजक क्याट युकेलाई धन्यवाद र बेलायतवासी नेपालीलाई निमन्त्रणा गरेका छन् ।
माझी दाइ पोखरा फेवातालको देखि हङकङ आईडीले, ए घरमा पराल बारीमा बन्छो, बेसारेको लगायत थुप्रै गीतहरु गायका छन् लामाले ।
उक्त सांस्कृतिक कार्यक्रममा गायक राजन गुरुङ, नृत्यांगना अस्मिता रानामगरलगायतले प्रस्तुति दिनेछन् । यस्तै शुभ ब्यान्डको पनि प्रस्तुति रहने छ ।
क्याट युके २० वर्ष पुगेको अवसरमा ‘गरिब तथा जेहेनदार विद्यार्थी अक्षय कोष’लाई बढाउन च्यारिटी नाइट गर्दै छ ।
संस्थाले स्थापना गरेको उक्त कोषमा हाल ६० लाख रुपैयाँ रहेको छ । उक्त च्यारिटी नाइट तथा कार्यक्रमबाट एक करोड पुर्याउने लक्ष्य रहेको संस्थाका ट्रस्टी तथा कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।
क्याटले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । बेलायतमा बस्ने चितवनेलीहरूको साझा संस्थाका रूपमा सन् २००४ मा क्याट युकेको स्थापना भएको हो ।
चितवनको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने मुख्य लक्ष्यसहित स्थापना भएको संस्थाले यसअघि जिल्लाका दुर्गम गाउँमा एम्बुलेन्स प्रदान, स्कुल तथा स्वास्थ्यचौकी निर्माण, भरतपुरमा ब्लड बैंक स्थापनालगायतमा सहयोग गरेको छ ।