लन्डन । वरिष्ठ लोकगायक कृष्ण थापामगरलाई 'गोर्खा मिडिया स्रष्टा सम्मान' पुरस्कार प्रदान गरिएको छ ।
२०२२ सेप्टेम्बर २५ तारिखका दिन गोर्खा मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा बेलायतमा घोषणा गरिएको पुरस्कार, सम्मान बुधबार काठमाडौं सुन्धारास्थित एक कार्यक्रमबीच समाजसेवी तथा व्यवसायीद्वय काजी गुरुङ र विजय गुरुङले गायक थापामगरलाई हस्तान्तरण गरेका हुन् । पुरस्कार राशि १० हजार नगद र प्रमाणपत्र रहेको छ ।
गायक थापामगरले आफूलाई योग्य ठानेर पुरस्कृत गरेकोमा गोर्खा मिडियाका सञ्चालक तथा फोटो पत्रकार मिलन तमु, संम्बन्धित सबै टीमप्रति धन्यवाद व्यक्त गरे । उनले समयमै पुरस्कार थाप्न नपाएकोमा असजिलो महसुस भएको बताए ।
गोर्खा मिडियाले वार्षिकोत्सवको अवसरमा २ जना कलाकारसहित कर्मचारीलाई सम्मान र सहयोग समेत दिने गरेको छ । यस वर्ष गायक थापा, सिन्धुलीकी गायिका अन्जु लामा थोकरलाई पुरस्कार दिइएको हो भने गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङ र भिडियो सम्पादक सागर तामाङलाई सम्मान गरिएको छ । गुरुङले २० हजार र तामाङले १० हजार रुपैयाँ र प्रमाणपत्र पाए ।
गायिका लामा र भिडियो सम्पादक तामाङलाई केही हप्ताअघि काठमाडौंमै कार्यक्रम गरेर ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) प्रवक्तासमेत रहेका प्रकाश गुरुङले मिडियाका तर्फबाट पुरस्कार र कलाकार दिनेशकुमार तामाङलाई १० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
सिन्धुलीको दुर्गम गाउँ सुनकोसी गाउँपालिका-७ नागीमा २०५१ सालमा जन्मिएका गायिका लामा करिब एक दशकदेखि तामाङ तथा सेलो गायनमा सक्रिय छिन् । उनले 'हिमालको चौंरी', 'मुनाल जोडी', 'जात्रा च्याला', 'आनीको छोरी', 'एला माया' (तिम्रो माया), शैक्षिक चेतनामूलक गीत, आधुनिक, काँठ क्षेत्रमा प्रचलित लोक तथा दोहोरीलगायत दर्जनौं गीत गाइसकेकी छन् । उनी मोडलिङसमेत गर्छिन् ।
तनहुँका वरिष्ठ गायक थापामगर ४३ वर्षदेखि गीतसंगीत रहेका छन् । उनले ए सारंगीको तार, नरोउ माया धर्केर, जुनी जुनीलाई, लाहुरे फुली पाते बुलाकीलगायत दर्जनौं गीत गाउने र सिर्जना गरिकेका छन् ।
गोर्खा मिडिया 'सूचना र सेवा सँगै' सन्देशसहित सन् २०२० सेप्टेम्बर १४ तारिखमा बेलायत निवासी पूर्वगोर्खा आर्मी एवं समाजसेवी मिलन तमुको एकल स्वामित्वमा स्थापना भएको हो ।