लन्डन । बेलायतको अल्डरसटमा अनुग्रह बुलियन एन्ड डायमन्ड सप सञ्चालनमा आएको छ । मेयर मारा माकुनुरा र सञ्चालक सुमन राईले सोमबार एक समारोहबीच संयुक्त रूपमा रिबन काटेर पसलको उद्घाटन गरे ।
ग्राहकको आवश्यकता र समयको मागलाई ध्यानमा राख्दै नयाँ पसल सञ्चालनमा ल्याएको सञ्चालक सुमन राईले बताए । अल्डरसटस्थित अनुग्रह ज्वेलरीका सञ्चालक सुमन राई तथा मुना राईले तेस्रो शाखाका रूपमा यो पसल सुरु गरेका हुन् । सुमनका अनुसार यस पसलमा हिरा, मोती, श्वेत सुन (White Gold) तथा अन्य बहुमूल्य रत्नहरू, रोलेक्स, करटीयर जस्ता बहुमूल्य घडी एवं अर्डरबमोजिम आधुनिक सुनचाँदीका गहना शुपथ मूल्यमा उपलब्ध छन् ।
उद्घाटन कार्यक्रम आकाश सुनुवारले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मेयर मारा माकुनुरा, मेयरेस सल माकुनुरा तथा विशेष अतिथिहरू वरिष्ठ चलचित्र निर्माता/निर्देशक मिलन चाम्स, राजा चार्ल्सद्वारा एमबीइ (मेम्बर अफ ब्रिटिस एम्पायर) बाट विभूषित सर सुवास राई थिए । अतिथिमा पूर्व काउन्सिलरहरू डेभिड क्लिफर्ड, जीव बेल्वासे, प्रवेश केसी साथै रेभरेन जोर्ज न्यूटन, जीआरएनसीका अध्यक्ष मान गुरुङ, गेरी स्टाम्प, राजा थापा, न्यु लक्ष्मी ज्वेलर्सको प्रोप्राइटर लक्ष्मी राईलगायत नेपाली समुदायको उपस्थिति थियो।
उनीहरूले व्यवसाय सफलताको शुभकामना दिएका थिए । सो अवसरमा सञ्चालक सुमन राईका छोरा गौरवले स्वागत मन्तव्य राखेका थिए । उनका अनुसार अनुग्रहको अर्थ समुदायप्रति विश्वास, वरदान र गहिरो प्रतिबद्धता हो । सन् २०१५ मा साउथ इस्ट लन्डनको प्लमस्टेडमा पहिलो आउटलेट खोल्दादेखि अनुग्रह ज्वेलर्स लिमिटेडले ग्राहकलाई उच्च गुणस्तरको सुन र परम्परागत गरगहना उपलब्ध गराउँदै सत्य निष्ठाको ज्योति बनाएको उनको भनाइ थियो ।
‘हाम्रो नारा, ‘शुद्ध सुनको ग्यारेन्टी’ हामीले बेच्ने हरेक टुक्रामा हाम्रो अटल प्रतिज्ञालाई प्रतिबिम्बित गर्दछ । अनुग्रह ज्वेलर्स लिमिटेडको यो विस्तारले हामीलाई हाम्रो सबैभन्दा नयाँ उद्यम ‘अनुग्रह बुलियन’ यो विरासत जारी राख्दै सुन, हिरा र लक्जरी घडीहरू मात्र नभई ग्राहकहरूका बहुमूल्य वस्तुहरू सुरक्षित राख्न अत्याधुनिक सुरक्षित बक्सहरूको पनि सुविधा प्रदान गर्नेछ,’ गौरभले भने ।
अनुग्रह ‘अनुग्रह फाउन्डेसन’मार्फत परोपकारमा पनि संलग्न छ। ‘हामी न्यून आय भएका परिवारका बालबालिकालाई शिक्षा, छात्रवृत्ति र अन्य स्रोतहरू प्रदान गर्न केन्द्रित छौँ ताकि उनीहरूको उज्ज्वल भविष्य सुनिश्चित होस्’, सञ्चालक सुमन राईले भने । फाउन्डेसनले ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविरमार्फत निःशुल्क जाँच र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।