लन्डन । एनआरएनए यूकेले पहिलो एनआरएनए महोत्सव र एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारेको छ । कार्यक्रम आगामी ३ अगस्टमा लन्डन फेल्थाममा हुन लागेको हो ।
बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ९ए साइड एनआरएनए कप र सोही दिन नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार-प्रसार एवं संवर्द्धनका लागि महोत्सव गर्ने तयारी भइरहेको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।
‘बेलायतको नेपाली डायस्पोरामा पहिलो र दोश्रो पुस्ताबीचको दुरी बढिरहँदा हामीले दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न गरेका छौँ,’ अध्यक्ष गाहामगरले भने, ‘हाम्रो कला, संस्कृति, भाषा, भेषभूषा, रहनसहन दोश्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरूको मातृभूमिसँगको नाता तोडिने चिन्ता छ। त्यसैले तपाईं हामी मिलेर यस्ता इभेन्टस् गर्नुपर्ने दायित्व आएको छ ।‘
अध्यक्ष गाहामगरले यो कार्यक्रम कसैसँग प्रतिस्पर्धा गर्न नगरिएको जनाउँदै आफ्नो सम्झेर सहभागी हुन सबैसँग अपिलसमेत गरेका छन् ।
यसैबीच कार्यक्रममा सहभागी हुने विशेष अतिथिलाई नौमती तथा पञ्चे बाजा र ब्याक पाइपर धुनले स्वागत गर्दै खादा, ब्याच एवं मायाको चिनो प्रदान गरिनेछ ।
संघले यसबारे औपचारिक जानकारी दिन २८ जुलाई दिउँसो ठमेल दोहोरी रेस्टुरेन्ट, अल्डरसटमा पत्रकार सम्मेलन पनि गर्दैछ । सोही दिन सञ्चारकर्मी र टिम क्याप्टेन/म्यानेजरमाझ टिम ड्र गर्ने तयारी छ।