लन्डन । लमजुङ समाज यूकेको गृष्मकालीन भेटघाट भव्य रूपमा सम्पन्न भएको छ । समाजका अध्यक्ष दलबहादुर गुरुङको निर्देशनमा उपाध्यक्ष जुना गुरुङले संयोजन गरेको कार्यक्रम शनिबार सम्पन्न भएको हो । अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा आयोजित भेटघाटमा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रस्तुति भएका थिए ।
कार्यक्रमको सुरुआतमा विभिन्न खेलकुद प्रतियोगिता भएको थियो । खेलकुद सचिव प्रकाश गुरुङको संयोजनमा फुटबल प्रतियोगिता सञ्चालन भयो । उपाध्यक्षद्वय पूर्णराज गुरुङ र परशु गुरुङले ठेलो प्रतियोगिता सञ्चालन गरे । सल्लाहकार दिलमाया गुरुङको नेतृत्वमा महिला भलिबल आयोजना गरिएको थियो । त्यसरी नै सल्लाहकार क्याप्टेन देव घलेले महिला म्युजिकल बल प्रतियोगिता र साना-साना नानीहरूका लागि फन गेम आयोजना गरे । यस पटक लमजुङे गल्फ प्रतियोगिता पनि केही हप्ता अगाडी नै सम्पन्न भएको थियो ।
सम्पूर्ण खेलकुदको संयोजन सल्लाहकार क्याप्टेन दिपक घलेले गरेका थिए । खेलकुद समापन हुनासाथ मैदानमै पुरस्कार वितरण गरिएको थियो । खेलकुद पुरस्कार समाजका अग्रजहरूले प्रायोजन गरेका थिए । उनीहरूको हातबाट वितरण पनि भएको थियो । प्रायोजक सबैलाई समाजका अध्यक्षले खादा लगाएर धन्यवाद दिए ।
भेटघाट कार्यक्रममा स्वादिष्ट बीबीक्यूको व्यवस्था अल्डरसटस्थित गोरखा किचनले गरेको थियो । दिउँसो दुई बजेदेखि उपस्थित सबैलाई बीबीक्यू र खाना खुवाइएको थियो । आमा समूहका स्वयंसेवकहरूले चिसो पेय पदार्थको बन्दोबस्त गरेका थिए ।
कार्यक्रम अवधिभर मौसम सफा रहेको थियो । जसले खेलकुद प्रतियोगितालाई पनि प्रतिस्पर्धात्मक बनाएको थियो । मनोरञ्जनको कार्यक्रम भने तोकिएको समयभन्दा डेढ घण्टा ढिलो सुरु भयो । औपचारिक कार्यक्रम अध्यक्ष दलबहादुर गुरुङको सभापतित्वमा सचिव कुमार गुरुङले सञ्चालन गरे । संयोजक जुना गुरुङले स्वागत तथा धन्यवाद मन्तव्य राखिन् ।
त्यसपछि आजीवन सदस्यहरूलाई पनि स्वागत गरिएको थियो । कार्यक्रममा मनोरञ्जन दिन नेपालबाट आएका कलाकारहरू मनमाया वाइबा, राजु आरडी, लक्ष्मी गुरुङ र तिलक गुरुङलाई समाज र आमा समूहबाट मायाको चिनोसहित स्वागत तथा सम्मान गरिएको थियो । अन्त्यमा सभापतिले मन्तव्यसहित औपचारिक कार्यक्रम सम्पन्न गरे । उनले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
त्यसपछि सांस्कृतिक सचिव इन्द्रजीत गुरुङले सांस्कृतिक कार्यक्रम सुरु गरे । जसमा स्थानीयसहित नेपालबाट आएका कलाकारले बेजोड प्रस्तुति दिए । उनीहरूको गीत तथा नृत्यमा दर्शकहरू झुमेका थिए । दर्शकले अति नै मन पराएका गायिका मनमाया वाइबा, राजु आरडी र तिलक गुरुङले सबैलाई नचाएका थिए । नायिका लक्ष्मी गुरुङको नृत्यले मन्त्रमुग्ध बनाएको थियो । सांस्कृतिक कार्यक्रमको सञ्चालन सल्लाहकार यूनिल गुरुङले गरेका थिए ।
अन्त्यमा माला घलेको संयोजनमा भाग्यचिट्ठाको आयोजना गरिएको थियो । विभिन्न आकर्षक पुरस्कारसहित सुनको औँठी पुरस्कार राखिएको थियो । पुरस्कार आकर्षक भएकाले अन्तिमसम्म दर्शकहरू खचाखच थिए । भाग्यशाली विजेता र प्रायोजकलाई समाजका अध्यक्षले बधाई तथा धन्यवाद दिए । कलाकारलाई शिरफुल हस्तान्तरण गर्दै आगामी २३ नोभेम्बरमा हिउदे भेटघाटमा भेट्ने बाचा सहित कार्यक्रम समापन भएको थियो ।