लन्डन । बेलायतको गील्फोर्डमा सम्पन्न ‘क्यान्सर रिसर्च यूके रेस फर लाइफ’ मा तमु धीं आमा समूह यूकेका २० धावक सहभागी भएका थिए । शनिबार भएको दौडमा तमु धीं यूकेका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिति थियो ।
तमु धीं यूके आमा समूहले बर्सेनि सहभागिता जनाउँदै आएको छ । दौड क्यान्सर रोग विरुद्ध जनचेतना जगाउने अभिप्रायले बेलायतमा हरेक वर्ष हुने गरेको छ ।
जसमा तमु धीं आमा समूह यूकेका अध्यक्ष सन्ध्या गुरुङको संयोजकत्वमा २० जना धावक सहभागी भएका थिए । उनीहरूले गिल्डफ़ोर्ड स्टोर्क पार्कमा ५ किलोमिटर दौड पूरा गरी आर्थिक सहयोगसमेत गरेका छन् । यस वर्ष तमु धीं आमा समूह युकेको तर्फबाट क्यान्सर रिसर्च रेस फर लाइफलाई १ हजार ९०० पाउन्ड हस्तान्तरण गरिएको हो ।
गील्डफोर्डमा भएको दौडमा १ हजार ५०० जना धावक सहभागी भएका थिए । यो च्यारिटीबाट विश्वव्यापी रूपमा २०० थरिका क्यान्सरबाट पीडित महिला, पुरुष तथा बालबालिकाको उपचार र उन्मुलनमा खर्च गरिनेछ ।
सन् १९९४ मा लन्डनबाट सुरु भएको यस दौडमा पहिलो वर्ष ७५० महिला सहभागी भएका थिए । त्यसयता हरेक साल सहभागीको संख्या वृद्धि भइरहेको छ । बेलायतका विभिन्न शहरमा विभिन्न समयमा हुने दौडमा सहयोग गर्न पाउँदा गौरवान्वित महसुस भएको तमु धीं आमा समूह यूकेले जनाएको छ ।
यस सत्कार्यमा सहभागी हुन नसके पनि स्पोन्सर गरेर साथ दिने सहयोगी दाता, मिष्ठान्न भोजन सयोजक तमु धीं आमा समूह, तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष एबं एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङलाई धन्यवाद दिइएको छ ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, ट्रस्टीज एवं सल्लाहकार एकेन्द्र गुरुङ, पूर्वकोषाध्यक्ष दीपक गुरुङ, लाल गुरुङलगायत कार्यसमिति सदस्य र हौसला दिन उपस्थित तमु धी यूके परिवार, आमा समूह र अनुपस्थित भएर पनि सहयोग गर्ने तमु धीं यूके तथा सहयोगी मनप्रति धन्यवाद व्यक्त गरिएको छ ।