लन्डन । टु क्ल्हेप्री भाइखलक यूकेको माइतीचेली भेला गत १३ जुलाईमा साम्युलकोडी स्कुल फार्नबोरोमा भव्य रूपमा सम्पन्न भएको छ ।
बिहान नौ बजे सुरु भएको कार्यक्रममा पुर्खौंदेखी क्ल्हेप्री गुरुहरूले गर्दै आइरहेको तमु समाजमा प्रचलित तमु मौलिकतापूर्ण त्हेँ (थासोँ वाबै त्हेँ) क्ल्हेप्री गुरुहरू राजमान टु क्ल्हेप्री तमु र डम्बर टु क्ल्हेप्री तमुले सञ्चालन गरेका थिए ।
कार्यक्रममा भाइखलक, माइतीचेली परिवार पाहुनाको आवागमनसँगै थासोँ त्हेँ को समापन गरिएको थियो । त्यसपश्चात् पाहुनाले बाहिर ढोकामा थासोँ त्हेँको चोखो पानीले नुहाएर हलभित्र प्रवेश गरेर खेगी गुरुबाट ‘रिपा’ लगाएर आशीर्वाद थापेका थिए । लगत्तै खानपिन सुरु भएको थियो ।
आफ्नो जन्मघर छाडेर गएका छोरीचेली माइत आउने समयमा हरेक वर्ष माइतीहरूले रिपा लगाई दिएर स्य्हाई स्य्हाई गरेर ‘प्हैंसी’ गरिराख्ने चलन छ। सो क्रमलाई जारी राखेमा छोरीचेलीको नराम्रो ग्रह र दुःख बिरामबाट टाढा रहने विश्वास छ । यसलाई मनन गर्दै उपस्थित चेलीबेटी पाहुनालाई क्ल्हेप्री गुरुहरूले रिपा लगाई स्य्हाई स्य्हाई गर्दै स्वागत गरेका थिए ।
त्यसपछि सचिव नेत्र टु क्ल्हेप्री तमुले दोस्रो चरणको कार्यक्रमलाई अघि बढाए । अध्यक्ष उज्वल टु क्ल्हेप्री तमु, निवर्तमान अध्यक्ष तथा सल्लाहकार रनबहादुर टु क्ल्हेप्री तमु र डम्बर टु क्ल्हेप्री तमु, छोरीज्वाइँ चेलीबेटीका तर्फबाट दिदी बिष्णु टु क्ल्हेप्री तमु र ज्वाइँ लेफ्टेन कर्णबहादुर योज तमुले संयुक्त रूपमा दीप प्रज्वलन गरेर सुरु गरेका थिए । उपाध्यक्ष जुम टु क्ल्हेप्री तमुले सुरक्षासम्बन्धि जानकारी गराउँदै पाहुनालाई स्वागत गरे ।
उपाध्यक्षको स्वागत मन्तव्यपश्चात् चेलीबेटीहरूले ल्याएको कोसेली हस्तान्तरण गरे । उनीहरूले माइती परिवारका अध्यक्षलगायत चार जना वयोवृद्ध बाबाहरूलाई फेटा ओढाएर सम्मानसमेत गरेका थिए । माइतीका तर्फबाट पनि छोरी चेलीलाई कोसेली दिएर सामूहिक रूपमा हर्षोल्लासमय वातावरणमा नाचगान गरेर रमाइलो गरेको सचिव नेत्र टु क्ल्हेप्री तमुले जानकारी दिए ।
विभिन्न ओहदामा मनोनित भएका माइतीचेली परिवारका सदस्य, विद्यावारिधिसहित उच्च शिक्षा हासिल गरेका छोराछोरीलाई फेटा क्रमु र सम्मान पत्रले सम्मान गरियो । नेपालबाट आफ्नो सांगीतिक यात्राका क्रममा बेलायतमा रहेका लोकदोहोरी गायिका तथा गुरुङ चलचित्रका नायिका सविना प्हच्यु तमु र तमु चलचित्र क्षेत्रमा चर्चित नायिका तथा मोडल र डान्सर लक्ष्मी को क्ल्हेप्री तमुलाई क्रमु ओढाई सम्मान पत्रले सम्मान गरियो ।
यसैगरी गोर्खा मिडिया प्रालीका प्रबन्ध निर्देशक, फोटो पत्रकार तथा भिडियोग्राफर साथै परिवारका ज्वाइँ मिलन ल्हेँगे तमुलाई पनि फेटा गलबन्दीका साथ सम्मान पत्रले सम्मान गरिएको थियो । माइती-चेली भेटघाट कार्यक्रमका लागि टेबुलमा सजाउन ब्यानर बनाइदिएकोमा दिदी विष्णु टु क्ल्हेप्री र भिनाजुलाई पनि सम्मान गरिएको थियो ।
पूजामा सजाउन दुई वटा सानो तामाको गाग्री दिएर सहयोग गर्ने बहिनी शिव टु क्ल्हेप्री तमु र ज्वाइँलाई पनि क्रमु र फेटा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा भाइखलकको सदस्य परिवारमा भई परि आएको विभिन्न सुखका कार्य (नवदम्पती छोरी ज्वाइँ, छोराबुहारी, नातानातिनी जन्मेको) को अवसरमा पनि शुभअशिमँला दिँदै सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा सांगीतिक मनोरञ्जनात्मक कार्यक्रमलाई अगाडि बढाउँदै उपाध्यक्ष जुम टु क्ल्हेप्री तमुले सञ्चालन गरे । डान्सर लक्ष्मी को नाचबाट सुरु भएको प्रस्तुतिका क्रममा ज्वाइँ पृथ्वीमान तमुले पनि पुरानो गीत विदेश जाने मायालु तिमीलाई कार्यक्रमलाई थप रमाइलो बनाएका थिए ।
अर्का कलाकार सविनाको लोकदोहोरी प्रस्तुतिका साथै छोरी करुना टु क्ल्हेप्री तमुको प्रस्तुतिले पनि कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । अन्त्यमा कलाकार र छोरीचेली परिवारलाई बिदाइ अर्को वर्ष भेट्ने वाचासहित भेटघाट सकिएको थियो ।