काठमाडौँ । नेपाली चलचित्र घरज्वाइँमा प्रयोग गरिएको रोधी संस्कृतिसँग सम्बन्धित केही संवाद र दृश्यप्रति तमु धीं नेपालले आपत्ति जनाएको छ ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै तमु धींंले ती संवाद तथा दृश्य रोधीको मर्म र कर्मविपरित भएकाले चलचित्रको निर्माण टिमको ध्यानाकर्षण गराएको हो ।
‘रोधी गुरुङ समुदायको पवित्र एवं सामाजिक सामुदायिक संस्कृति आफ्नै सामुदायिक सम्मानजनक र जिम्मेवार साथै सिक्ने सिकाउने, श्रम विभाजन गर्ने, सामुदायिक निर्णय गर्ने, दुःखसुख आदानप्रदान गर्ने, थिति निर्माण गर्ने सामाजिक धरोहरलाई कोही कसैले कुनै प्रसंगमा गलत प्रयोग, प्रस्तुति र प्रचार नगर्न अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले घरज्वाइँ चलचित्र निर्माणसँग सम्बन्धित पक्षले नकारात्मक वा भ्रमित हुनेगरी रोधीसँग सम्बन्धित प्रस्तुतिलाई तत्काल सम्पादन गर्न अनुरोध छ ।’
अध्यक्ष हुमबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा रोधीको सट्टा चलचित्र छायांकन, कथा, विषयवस्तु केन्द्रित क्षेत्रकै शब्दावली प्रयोग गर्न सुझावसमेत दिइएको छ ।
आगामी दिनमा संस्कृति, सभ्यता, मौलिकता, ऐतिहासिकतासँग सम्बन्धित चलचित्र प्रस्तुति गर्नुपूर्व सम्बन्धित समुदायसँग समन्वय गर्न/गराउन पनि चलचित्र विकास बोर्ड तथा चलचित्र सेन्सर समितिलाई अनुरोध गरिएको छ ।