लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले पहिलो पटक महिला अध्यक्ष पाएको छ । आइतबार भएको निर्वाचनबाट विमला सेने अध्यक्षमा निर्वाचित भएकी हुन् । बेलायतको फार्नबोरोस्थित गोर्खा वेल्फेयर सोसाइटीको भवनमा भएको मतदानमा सेने २३ मत प्राप्त गर्दै महासंघको नेतृत्वमा पुग्ने पहिलो महिला बनिन् ।
अध्यक्षमा अध्यक्षमा श्याम लुइँटेल र दिनेश परियारले पनि उम्मेदवारी दिएको भए पनि उनीहरू मतदानमा उपस्थित भएनन् । १५ सदस्यीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध भएका थिए ।
वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षमा शिव भण्डारी, उपाध्यक्ष (महिला)मा प्रमीला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मञ्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम निर्विरोध भएका छन् ।
सदस्यहरूमा वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिको संयोजकमा संस्थाका पूर्वअध्यक्ष नरेश खपांगी मगर तथा सदस्यहरूमा प्रजय शुक्ला र पूर्ण गुरुङ थिए ।
ध्रुवराज अर्यालको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रममा महिला उपाध्यक्ष प्रमीला राईले स्वागत मन्तव्य राखेकी थिइन् । महासचिव नरेन्द्र बस्नेत र सचिव मञ्जु भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
अधिवेशनले महासचिव बस्नेतले प्रस्तुत थरेको संस्थाको प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो।
अन्त्यमा निवर्तमान अध्यक्ष अर्यालले निर्वाचन मण्डल, पर्यवेक्षक, नवनिर्वाचित कार्यसमिति तथा उपस्थित सबैलाई बधाई तथा धन्यवाद दिएका थिए । नवनिर्वाचित अध्यक्ष सेनेले पनि सबैलाई धन्यवाद दिइन् ।