लन्डन। पर्वतको चार भन्ज्याङ घर भई देश तथा विदेशमा रहेका युवाहरूले आफ्नो गाउँको(चारभन्ज्याङ) भ्रमण गर्ने भएका छन् ।
‘युथ भिजिट २०२४’ अन्तर्गत आगामी भदौ १४ देखि १६ (३० अक्टोबरदेखि १ नोभेम्बर) सम्म तीन दिने गाउँ भ्रमण हुने भएको हो । युवाहरूलाई आफ्नो थातथलो, बाबुबाजेको घर, गाउँ चिनाउने वा परिचित गराउने, गाउँ र गाउँलेप्रति अपनत्वको विकास गराउने भ्रमणको लक्ष्य छ ।
यसैगरी, रैथाने कला संस्कृति, परम्परा मौलिक रहन सहनप्रति आकर्षित गराउने, युवाहरूबीच चिनजान र अनुभव आदानप्रदान गर्ने/गराउनेसमेत उद्देश्य छ । यसले चार भन्ज्याङको विकास, प्रगतिका लागि युवाको योगदान गर्नसमेत प्रेरित गर्ने चार भन्ज्याङ तमु समाज यूकेका अध्यक्ष बेनकुमार गुरुङले बताए ।
यूकेका अध्यक्ष बेनकुमार गुरुङको नेतृत्वमा खाल्टे, लामे, फलामखानी, दाद्रा हुँदै भँगराको भ्रमण गरिने भएको हो । भ्रमणका क्रममा खाल्टे, फलामखानी डाँडा र भंगरामा बास बस्ने योजना छ ।
चार भन्ज्याङ युथ भिजिटमा यूके, युरोप, हङकङ, काठमाडौँ, पोखरा, रुपन्देहीलगायत स्थानमा रहेका चार भन्ज्याङका युवाहरूको सहभागिता रहने छ । उक्त भ्रमणको चार भन्ज्याङ तमु समाज समन्वय केन्द्र, अन्तर्राष्ट्रिय समन्वय समितिलगायत समाजले संयोजन र गाउँमा रहेका संघ संस्था र अगुवाहरूले व्यवस्थापनमा सघाउने छन् ।