लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले आफ्नो वार्षिक क्यालेण्डरअनुसार २११औं भानु जयन्ती साथै ९३औं ईश्वर जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ ।
यही १३ जलाई २०२४ मा भर्च्युअल माध्यमद्वारा कुमार केसीबाट जुम होस्ट र मञ्जु भण्डारीबाट सञ्चालित सो कार्यक्रममा राज श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष माया गुरुङ संयोजन रहेको थियो । कार्यक्रममा एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने भर्खरै निर्वाचित भएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले र आफ्ना कार्यकाल पूरा गरेका निवर्तमान अध्यक्ष गोवर्धन पूजा विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा अनेसासका सल्लाहकारद्वय सुमलकुमार गुरुङ र डा. रुपक श्रेष्ठले क्रमशः आदिकवि भानुभक्त र डायस्पोराका आदिकवि ईश्वर मानन्धरका बारेमा साहित्यिक योगदानको कदर गर्दै प्रकाश पारेका थिए भने विशेष अतिथि गोवर्धन पूजाले शुभकामना मन्तव्य दिएका थिए । विशेष अतिथि सर्वज्ञ वाग्ले र प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठले शुभकामना मन्तव्य दिँदै साहित्यिक कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गरे र भानुभक्तको योगदानबारे चर्चा गरे ।
प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठले केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको विचारलाई समर्थन गर्दै नेपालमा भाषा, संस्कृति र साहित्य क्षेत्रलाई उत्थान-सहयोग गर्नतिर सबैलाई ध्यानाकर्षण गरे । सुप्रमा-ईप्रमा पुरस्कार बेलायतका संस्थापक परिवारका सदस्य सबिता मानन्धरले सो संस्थालाई माया जगाउँदै सो पुरस्कारलाई निरन्तरता दिने बताउँदै शुभकामना दिए भने सहभागीहरू दुर्गाप्रसाद पोखरेल, सर्वज्ञ वाग्ले, एन बी अन्जान, विनोद अधिकारी, वासुदेव सापकोटा, विन्दु त्रिपाठी, डिल्लीराम आम्मई, गंगा भण्डारी, सौरभ करन्जीत, सबी श्रेष्ठ, गोमा राना, गोमा स्वीन्डेन, प्रतिमा केसी, जित बुढाथोकी, कुमार केसी, सारा देवी गुरुङ, सुमल कुमार गुरुङ, रुपक श्रेष्ठ, राज श्रेष्ठ अरु सबैजनाले सन्देशमूलक सिर्जनाहरू; गीत, गजल, कविता र मुक्तक वाचन गरे ।
अन्त्यमा अध्यक्ष राज श्रेष्ठले सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि यसरी नै साहित्यिक कर्ममा सबैसँग आबद्व रहिरहने आशा र विश्वास गर्दै कार्यक्रम समापन गरे ।