काठमाडौं । पच्यु पैंडी चिवा (पीपीसी) यारजङ गुरुङ प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने उक्त पुरस्कार अन्तर्गत संस्कृति विधातर्फ पीपीसी गुरुङले गण्डकी प्रदेशबाट प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गरेका हुन् । विहीबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित एक समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पच्यु प्येका लेखक, अनुसन्धानकर्ता एवम् तमु थातथलो क्होला उत्खनन्का सहनिर्देशक गुरुङका धर्मपत्नीमार्फत उक्त पुरस्कार प्रदान गरेका हुन् ।
पीपीसी यारजङ पुरस्कार समर्पण कार्यक्रममा उपस्थित हुननसकेका कारण उनका धर्मपत्नी पूर्णकुमारी गुरुङले ग्रहण गरेकी हुन् । उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।
तमु जातिको मौखिक कण्ठस्थ धर्मशास्त्र, संस्कार तथा संस्कृतिलाई विश्वमाझ चिनाउन पीपीसी गुरुङको यागदान महत्वपूर्ण छ । उनले बेलायतस्थित विश्व प्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयलगायत दर्जनभन्दा बढी विश्वका विभिन्न ख्यातीप्राप्त विश्वविद्यालयमा तमु जातिको मौलिक धर्म संस्कारबारे भिजिटिङ लेक्चररका रुपमा कार्य गर्दै नेपालको मौलिक गहनालाई विश्वमाझ पु¥याउन महत्वपूर्ण योगदान दिँदै आएका छन् । तमु जातिको मौलिक कण्ठस्थ शास्त्रमध्ये पच्यु खेगीले वाचन गर्ने शास्त्रलाई लिपिबद्ध गरी करिब तीन दर्जन पुस्तक कम्प्यूटर टाइप गरी राख्न सफल भएका छन् ।
भाषा एवम् साहित्य, संस्कृति, संगीत तथा नाट्य र ललितकला गरि चार विधामा विभिन्न सष्टा तथा सर्जकहरुलाई ‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८०’ प्रदान गरिएको हो । गण्डकी प्रदेशका पीपीसी यारजङसँगै कोशी प्रदेशका भीमप्रसाद योङहाङ ‘योसेली’, मधेश प्रदेशका भक्तिप्रसाद रिजाल, बाग्मती प्रदेशका डा. शशी थापा पण्डित, लुम्बिनी प्रदेशका जीवन प्रवेश रोकामगर, कर्णाली प्रदेशका मनोहर लामिछाने र सुदुरपश्चिम प्रदेशका हरिकृष्ण कडायत पनि ललितकला विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।
संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार भने नेवाकोटका केदारप्रसाद पाठक पुरस्कृत भएका छने । सोही कार्यक्रममा महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार, आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार, योगमाया राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कारबाट विभिन्न सष्ट्रा तथा सर्जकहरुलाई पुरस्कृत गरिएको थियो ।