लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले एनआरएनए महोत्सव तथा पहिलो एनआरएनए कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।
आउँदो ३ अगस्टका दिन लन्डनको फेल्थाममा पहिलो पटक उक्त कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।
नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्द्धनका लागि नेपाल महोत्सव आयोजना गर्ने तयारी गरिएको हो । यस्तै, बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’को उद्देश्यसहित युवा विभागले ९ ए साइड एनआरएनए कप फुटबल प्रतियोगिता गर्ने भएको हो ।
बेलायतको नेपाली डायस्पोरामा पहिलो र दोस्रो पुस्ताबीच दूरी बढिरहेकाले दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्नका साथ कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम खर्चिलो तर उद्देश्यमूलक प्रतियोगितामा भएको हुनाले बेलायतमा रहेका संघसंस्थालाई सहयोगका लागि एनआरएनए यूकेले अनुरोधसमेत गरेको छ ।
अध्यक्ष गाहामगरले भने, 'नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र रहनसहन दोस्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरूको मातृभूमिसँगको नाता तोडिने चिन्ता रहेको छ । त्यसैले सहयोग र समर्थनका लागि अनुरोध छ ।'
कार्यक्रमका लागि व्यक्तिगत तथा संघसंस्थाका तर्फबाट आर्थिक सहयोग गर्न सकिनेछ । प्रायोजन गर्न चाहने वा चन्दा दिने इच्छा रहेका महानुभावलाई सम्पर्क गर्न पनि अध्यक्ष मगरले अनुरोध गरे ।